११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मानव बेचविखनको आरोपमा सिन्धुपाल्चोकका ङेमा लामा पक्राउ



३१ असार । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ६ बाट पक्राउ गरेको हो । लामाले आफ्नो श्रीमती समेत कुवेतमा रहेकोले वर्किङ भिसामा क्लीनरको काममा लगाई दिने प्रलोभन देखाई पीडितबाट ९५ हजार रूपैयाँ लिई २०८० कात्तिक ५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको देखिएको छ । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने कागजातहरू समेत झुठ्ठा र फरक फरक बनाई पठाएका थिए ।

कुवेतको एयरपोर्टमा पुगे पश्चात पीडितलाई लामाको श्रीमतीले रिसिभ गरी कुवेती नागरिकको घरमा १ हजार १ सय ५० कुवेती दिनारमा बेचबिखन गर्ने गर्थिन । कुवेती नागरिकले पीडितलाई बन्धक बनाई घरेलु कामदारको रूपमा राखी पारिश्रमिक समेत नदिई यौन शोषण तथा चरम श्रम शोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ८ : २७ बजे