८ साउन । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ ।
मंगलबार एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले आफ्ना मन्त्रीहरुको नाम र विभागीय जिम्मेवारी समेत टुंग्याएको हो ।
एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ ।
त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।
एमालेका मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन् । यसअघि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठले गत असार २४ गते एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिदा उनले पनि राजीनामा बुझाएका थिए ।
२० चैत २०८० मा उद्योग मन्त्रालयमा नियुक्त भएका उनले तीन महिना मात्रै मन्त्रालयको जिम्मेवारीमा रहेको भन्दै दोस्रो पटक मन्त्री नियुक्त गर्न लागिएको एमाले बागमती संसदीय दलको कार्यालयले बताएको छ ।
१३ मन्त्रालय रहेको बागमतीमा एमालेको भागमा ६ मन्त्रालय लिने कांग्रेस र एमालेबीचमा सहमति भइसकेको छ ।
प्रतिक्रिया