१४ साउन । थापाथलीको पुलमुनि १७ असारमा मृत भेटिएका एक पुरुषको हत्या भएको खुलेको छ । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती नदीको पुलमुनि १७ असारको अपरान्ह ५ बजेतिर मृत फेला परेका व्यक्ति कञ्चनपुरका गोविन्द बोहरा रहेको खुलेको थियो ।
१५ असारदेखि बेपत्ता गोविन्द हराएपछि काका महेशबहादुर बोहराले खोजी गरिदिन प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । त्यसको दुई दिनपछि थापाथली पुलमुनि शव भेटिएपछि प्रहरीले गोविन्दका काकालाई बोलाएको थियो । काका महेशले मृतक आफ्ना भतिज गोविन्द रहेको सनाखत गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
गोविन्दको हत्याको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका वसन्त भनिने जगदिश बोहरा, सोही ठाउँका सुरजकुमार विष्ट, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाडौं मैतीदेवी बस्ने नरेश सिंह महरा र कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का नविन भन्ने मोतीलाल बोहरा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
प्रतिक्रिया