५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री केपी ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग



काठमाडौँ
२० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन निर्देशन दिए ।

नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरे । पानीजहाजबाट सीमा पारदेखि सामान ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उनको भनाइ थियो ।

नेपालमा पानी जहाज

“पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ । ठूला भन्सार पनि खोलौँ । सबै काम त्यहीँबाट हुन्छ । यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ”, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित सहभागी कर्मचारी÷इञ्जिनियरलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले भने, “पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुुपर्छ हाल सञ्चालित कुर्था–जनकपुुर रेलमार्गमा दुई वटा रेल थप्नुुपर्छ । त्यहाँको मार्गलाई बर्दिवाससम्म ल्याउनुपर्छ । पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ । काठमाडौँमा जमिनमुनी रेल चल्न सम्भव छैन भने स्काइ रेल चलाउनुुपर्छ ।’’

प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरु पनि ग्वाँटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली तथा सिलीगुरीबाट हरिद्वारसम्म पुग्न सक्ने बताए ।

rail

प्रधानमन्त्री ओलीले चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनास्तरीय ढङ्गले छिटो सम्पन्न गर्न ध्यान दिन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले मध्यपहाडी (पुष्पलाल) राजमार्गको रामेछाप–नुवाकोट खण्ड र अन्य स्थानमा जनताको मागअनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिँदै मार्ग परिवर्तन गर्दा राजनीतिक दबाब नभई बढीभन्दा बढी जनतालाई लाभ हुने, सुरक्षित र छिटो पुग्न सकिने आधारलाई प्राथमिकता दिन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले प्राविधिक क्षेत्रमा काम गर्दा हुन सक्ने मानवीय त्रुटिलाई सरकारले क्षमा दिन सक्ने तर भ्रष्टाचार सैह्य नहुने स्पष्ट गर्दै इमानदार भएर काम गर्नेहरुले ढुक्कका साथ अघि बढ्न सक्ने बताए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ३ : ५३ बजे