८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काभ्रेका सडकको यात्रा जोखिमपूर्ण



काभ्रेपलाञ्चोक
२३ साउन । काभ्रेपलाञ्चोकमा स्तरोन्नति सुरु गरिएका मुख्य राजमार्गसहितका शाखा सडकमा द्रुत गतिमा काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
निर्माण कम्पनीको ढिलासुस्ती र केही दिनदेखिको अविरल वर्षाले निर्माणाधीन अरनिको राजमार्गको धुलिखेल–खावा र भकुण्डे–तेमाल–मेच्छे सडकखण्डको यात्रा जोखिमपूर्ण भएको हो ।

गत चैत १९ गतेभित्रमा सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सडक विभागसँग सम्झौता गरेको निर्माण कम्पनीले धुलिखेल–खावा सडकमा हालसम्म ५० प्रतिशत पनि काम गरेको छैन ।
भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले धुलिखेलबाट पकुचासम्मको दुई किलोमिटर कटिङ, पानीको निकासका निम्ति नाला निर्माण, सवबेस र बेस गर्ने काम सकेर कालोपत्र गर्ने अवस्थामा पुर्याए पनि वर्षाका कारण कालोपत्र हुन नसकेको बताए ।

वर्षाका कारण अरनिको राजमार्गको धुलिखेलबाट खावासम्मको सडकमा क्षति भएपछि दुई साता उक्त खण्डमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । ती सवारीको भारलाई दृष्टिगत गर्दै ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस बनाएर कालोपत्र गर्ने योजना रहेको उनले सुनाए ।

यसैबीच, दुई वर्षभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सम्झौता भएको भकुण्डे–तेमाल–मेच्छे सडकखण्डको ठेक्काको म्याद यही साउन १५ गते समाप्त भएको छ ।
हालसम्म २५ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीले नमोबुद्ध नगरपालिका–४ भकुण्डेबाट वडा नं ५ को डुँडेपौवासम्म सात किलोमिटर र तेमाल गाउँपालिका–५ याङ्वेलबाट वडा नं ७ चापाखोरीसम्म साढे छ किलोमिटर सडकमा नाला, बनाउने, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने सम्झौता गरेको थियो । यो सडकखण्डको यात्रा पनि कष्टकर भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : २४ बजे