१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बडिगाड पहिरोमा तीन बालबालिका तीन दिनदेखि बेपत्ता



बलेवा (बागलुङ)
२४ साउन । बडिगाड पहिरोमा तीन बालबालिका तीन दिनदेखि बेपत्ता छन् । उनीहरुको शव अझैंसम्म पनि फेला पर्न सकेको छैन ।

बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ ।

पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताएका छन् ।

अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

झब्रिखेत बस्ती जोखिममा

यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ । त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो ।

हरेक वर्षको पहिराले प्रभावित भएका यहाँका केही बासिन्दा विस्थापित भएका पहिरोपीडित दीपक पौडेलले बताए । पहिरोका कारण पौडेल परिवार विस्थापित भइसकेको छ भने स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।