१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरका किसान खेतमा भ्यागुतोलाई भात खुवाउदै



भक्तपुर
३ भदौ ।  जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछ । गोलाकार पारेर काटिएका मूलाका चाना सिन्काले घोचेर भातमा अड्याइएको छ । छरिता रोटीसँगै विभिन्न तरकारी, क्वाँटीलगायत खानेकुरा ठूलो पातमाथि राखिएका छन् । रक्षाबन्धन धागो र सिन्दूर पनि त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर त्यसलाई किस्तीमाथि राखेर यहाँका किसान खेतमा पुग्छन् ।
आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रुपमा डाक्छन् र किसानले भ्यागुतालाई परिकार छाडिदिन्छन् । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिदिन्छन् । साङ्केतिक रूपमा सिन्दूर पहि¥याइदिन्छन् । अनि किसानले ऐनाका रुपमा (भातमा गाडिएका मूलाका चाना) देखाइदिन्छन् । किसान आफू हिँडेपछि भ्यागुता आएर खाने विश्वासमा परिकारका भाग त्यहीँ छाडिदिन्छन् ।
यो परम्परा देख्नेलाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि भने यो परम्परा हरेक वर्षको जनैपूर्णिमामा मान्दै आएकाले कुने अनौठो लाग्दैन । यसैगरी, आज यहाँका बासिन्दाले खेतखेतमा भ्यागुतालाई परिकारसहितको भात खुवाएर यो पर्व मनाएका छन् । प्रकृतिपूजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वास रहेको संस्कृतिकर्मी कला जोशी बताउछन् । त्यही गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको उनी बताउछन् । धेरैतिर खेत हुनेहरूलाई सबैतिर पुग्न भ्याइनभ्याइ थियो ।
प्रत्येक वर्ष गाईजात्राको अघिल्लो दिन (रक्षाबन्धन) भ्यागुतालाई भोज खुवाउने परम्परा छ । यसलाई स्थानीय किसान ‘ब्यां चा जानका वानेगू’ भन्छन् । नेपालभाषामा ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिई सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउछन् । भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गर्ने गरेको तथा भ्यागुतो उफ्रँदा बारीमा मल फिजिन्छ र बाली बिगारिदिने कीटाणु खाइदिन्छ भन्ने विश्वासले भ्यागुताको पूजा र भोज खुवाउने परम्परा रहँदै आएको उनी बताउछन् ।
त्यसैगरी, जनैपूर्णिमाका दिन आज भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदहमा बिहानदेखि ठूलो मेला लागेको छ । आजको दिन कालदहमा स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । यहाँ स्नान गर्दा शरीरमा भएको रोग नाश हुने जनविश्वास रहँदै आएको छ । विशेषगरी आज यहाँ भक्तपुरका नेवार समुदायको भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ७ : ३९ बजे