१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं ८ का दुई वटा फल्चा पुनः निर्माण



४ भदौ । काठमाडौं महानगरपालिका वडा नं. ८ का दुई वटा फल्चाको पुनःनिर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चा पुनःनिर्माण भएपछि आज सम्पदा तथा पर्यटन समितिका संयोजक एवम् वडाध्यक्ष आशामान संगतले फल्चाहरुको समुद्घाटन गरे । सम्पदाहरु उपभोक्तामार्फत पुनःनिर्माण गराइएको हो ।

यी फल्चामध्येकोे ‘ग्वलः दे फल्चा’ वि. सं. १९९० सालको भूकम्पपछि हराएको थियो । वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गरिएको हो । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा करिब ३२४ पुरानो हो ।

स्थानीय पाका मानिसहरुका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो । पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो । त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ ।

फल्चा पुनरुत्थानका लागि वडाले करिब १४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ ।

२५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९औं शताब्दीमा बनाइएको अभिलेख छ । ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यसको नाम नरसिंह रहेको हो । यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ । संयोजक संगतका अनुसार रावण पाटी पुनःनिर्माणको काम शुरु भइसकेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ९ : ३८ बजे