४ भदौ । सदियौँ पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ । नेवार जातिको लोकप्रिय नाच लाखे भने घण्टाकर्ण पर्वदेखि नै नचाउन सुरु हुन्छ ।
गत साउन २६ गते लाखे नाचले संस्कृतिमय पोखराको झल्को दियो । नेवाः खलः कचा पृथ्वीचोकले आयोजना गरेको लाखेनाच प्रतियोगितामा २० कलाकार समूहले भाग लिए । तीन समूह अप्रतियोगीका रुपमा मञ्चमा प्रस्तुत भए ।
पोखरा प्रदर्शनी केन्द्रमा दिनभर लाखेनाचको रौनक चल्यो । कलाप्रेमीले लाखे हेर्दे नेवारी परिकारको स्वाद लिए । दर्शकलाई नेवारी परिकार चखाउन प्रतियोगितास्थलमै ‘झो भ्वयः’ को प्रबन्ध गरिएको थियो ।
प्रतियोगितामा पोखराको मोहरिया सिंहनाथ टोल तायःमचाः समिति प्रथम, रामकृष्ण टोल ल्याम्ह पुचः दोस्रो, समाज कल्याण नेवाः खलः राजाको चौतारा तेस्रो र ग्रैहापाटन नेवाः समाज सान्त्वना भयो । विजेता समूहले क्रमशः रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र ११ हजार एक सय ११ नगद पुरस्कार जिते । लाखे नाचको संरक्षण र पुस्तान्तरणको ध्येयले प्रतियोगिता आयोजना गरिएको मूल संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।
लाखेनाच घण्टाकर्ण पर्वमा सुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति बियोगमा व्युहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती पाइन्छ । त्यसकै प्रतीकस्वरुप नेवार समुदायले बर्सेनि लाखेनाच प्रदर्शन गर्दै आएका छन् ।
नेवार समुदाय बसोबास गर्ने ठाउँअनुसार फरक–फरक तरिकाले लाखेनाच नचाउने गरिन्छ । लाखेनाचको प्रचलन र यसको इतिहासबारे पनि विभिन्न तर्क पाइन्छन् ।
लाखेनाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिङ्गारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायको बसोबास रहेको बागलुङ सदरमुकाममा पनि अहिले लाखेलगायत नाच प्रदर्शन भइरहेका छन् । बर्खे नाचलेसमेत चिनिने भदौरे जात्रा आजदेखि सुरु भएको छ ।
जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन रहेको नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
भदौरे जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत नाच तथा झाँकी प्रदर्शन हुने उनको भनाइ छ । गाईजात्रा पर्वका अवसर पारेर वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकाल्ने गरिएको उनले बताए ।
बागलुङका नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रुपमा जात्राको परम्परालाई धान्दै आएका छन् । यहाँ नेपाल भाषा मंका खलः र शाक्य कल्याण समाजको अगुवाइमा भदौरे जात्रा र नाचको परम्परा धानिँदै आएको छ ।
लाखे र जोगीनाच शाक्य कल्याण समाजले निकाल्दै आएको छ । अन्य नाच नेपाल भाषा मकां खलःअन्तर्गत संरक्षित छन् । नेवार युवाहरुको संस्था नेवाः ल्याम्ह पुचः पनि जात्रा संरक्षणमा सक्रिय छ ।
झण्डै चार सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट बागलुङ आएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताए ।
भदौरे जात्रामा देखाइने हरेक नाचका आ–आफ्नै परम्परा र ऐतिहासिक मान्यता छन् । घोडा नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्क्याउँदै बजार परिक्रमा गराउने चलन रहेको संस्कृतिकर्मी छोटाले बताए । कटुवाल नाचमा पनि युवाहरु विभिन्न रुपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे र खेतालालाई रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ ।
कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ । रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्कहरु महिलाको भेष धारणा गरेर नाचमा सहभागी हुन्छन् । हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन् । असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने गरिन्छ ।
जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो । नेवारभित्रको शाक्य समुदायले यसको संरक्षण गर्दै आएको छ । जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन छ । जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ । जोगीनाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा चुनौती रहेको शाक्य कल्याण समाजका अध्यक्ष राजन शाक्यले बताए ।
जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको संस्कृतिकर्मी छोटाले बताए । प्रायः नाच गाईजात्राकै भिन्न स्वरुपजस्ता देखिने गरेको उनको भनाइ छ ।
सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने बेग्लाबेग्लै छ । गाईजात्राका दिन निकालिने तायामचाः र बास्सा नाच दिवङ्गत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ । बास्सा नाचमा देवी, देवताको वेशभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ ।
नेपाल भाषा मंकाः खलःका अध्यक्ष राजभण्डारीले पहिलेपहिले भदौरे नाच हेर्नकै लागि मानिसहरु गाउँगाउँबाट बागलुङ बजार झर्ने गरेको बताए ।
पछिल्लो समय जात्राको रौनक खुम्चदैँ गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । बागलुङको हरिचौर, हटिया, बलेवालगायत नेवार जातिको बसोबास रहेका ठाउँमा पनि बर्खे नाच देखाउने गरिन्छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् ।
प्रतिक्रिया