४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत



४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत प्राप्त गरेका छन् । साउन ७ गते लुम्बिनी प्रदेश सभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मत प्राप्त गरेका हुन् ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न बुहमत ४४ सांसद आवश्यक भए पनि कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा आचार्य लुम्बिनीको छैटौं मुख्यमन्त्री बनेका थिए । लुम्बिनी प्रदेशमा रहेका ११ दलमध्ये ७ दलका सांसदले विश्वासको मत दिएका हुन् । स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि आचार्यको पक्षमा मत दिएका छन् ।

प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २९, नागरिक उन्मुक्ति पार्टीका ४, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३/३, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका २, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका १ र स्वतन्त्र खड्ग बस्नेत गरी ७० जना सांसदले आचार्यको पक्षमा मतदान गरेका हुन् ।

उपसभामुख मेनुका खाँड केसीसहित ४ सदस्य रहेको राप्रपा तटस्थ बसेको थियो । माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ गरी ११ जना सांसद विपक्षमा मतदान गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ११ : ५८ बजे