१३ आश्विन २०८१, आइतबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


धार्मिक तीर्थस्थल देवघाटधाम बाढीका कारण जोखिममा



 

त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचना जोखिममा परेका हुन्

दमौली (तनहुँ)
१३ असोज । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ ।

त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचना जोखिममा परेका हुन् । वर्षाका कारण देवघाट गाउँपालिका हुँदै बग्ने त्रिशूली र कालीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुगेको छ ।

कालीगण्डकीमा आएको बाढीले देवघाट गाउँपालिका–५ साँढेबगरस्थित महादेव आधारभूत विद्यालय डुबानमा परेको प्रधानाध्यापक शिवहरि वाग्लेले जानकारी दिएका छन् । बाढीले विद्यालय भवन डुबाएका कारण विद्यालयको सबै काजगात नष्ट भएको उनले बताए ।

यस्तै त्रिशूलीमा आएको बाढीले चितवन र देवघाट जोड्ने दासढुङ्गाको पुल जोखिममा परेको छ । त्रिशूलीमा पानीको सतह अत्यधिक बढेपछि शनिबार बाढी पुल नाघेर बगेको थियो । केही घण्टा उक्त पुलमा आवतजावत समेत बन्द गरिएको थियो ।

बाढीका कारण देवघाट गाउँपालिका–५ र चितवनको १७ किलोस्थित बगन्दी जाने झोलुङ्गे पुल जोखिममा परेको छ । त्रिशूली नदीको बाढीले गलेश्वर आश्रम जोखिममा छ । गलेश्वर आश्रमको नदीतर्फको केही भाग बाढीले बगाएको छ । त्रिशूली र कालीगण्डकीमा आएको बाढीले देवघाटस्थित वेणी सङ्गमा रहेका मठमन्दिर, कुटी र चितवनतर्फ रहेका धर्मशाला डुबानमा परेका देवघाट गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ०२ बजे