२२ असोज । वर्षाका कारण अवरुद्ध काठमाडौँ-हेटौँडा जोड्ने छोटो दूरीको कान्तिलोकपथ गएरातिदेखि खुलेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुरको बागमती गाउँपालिका–२ वगुवास्थित बागमती खोलामा रहेको पुलको केही भाग बाढीले बगाएपछि अवरुद्ध कान्तिलोकपथ मार्गमा सोमबार राति १०ः३० बजेबाट सञ्चालनमा भएको हो ।
यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् ।
१२ असोजको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । ललितपुरतर्फको सडक यसअघि नै सुचारू भए पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो ।
द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका छन् ।
सडक खुलाउन २ स्थानमा करिब ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन तथा च्यानलाइज गरिएको, ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गरिएको, बागमती नदीमा करिब ४० मिटर लम्बाइको र्याम्प निर्माण गरी पुलसम्म सडक जोडेको सेनाले जानकारी दिएको छ ।
बागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो । हेटौंडा र काठमाडौंलाई जोड्ने कान्तिलोकपथ महत्वपूर्ण मार्ग हो ।
हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए ।
कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने पहिल्यैदेखि सञ्चालनमा छ ।
प्रतिक्रिया