९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र समिक्षा : ‘उत्कृष्ट’ बन्न नसकेको, ‘राम्रो’ चलचित्र ‘१२ गाँउ’



ललितखबर
२९ असोज । पछिल्लो पुस्ताले विरलै हेर्न पाएका एक्सन जनरा(विधा)को चलचित्र केही समयदेखि निरन्तर प्रर्दशन भइरहेका छन् । रंगेली, रावायणपछि यही बडादशैंको फुलपाती असोज २४ गतेबाट अर्को एक्सनले भरिएको चलचित्र ‘१२ गाँउ’ प्रर्दशन सुरु भएको छ ।
कथासार
एक समयमा नेपालमा आएको बाढीले नदि किनारमा रहेका १२ गाँउ विनास भयो । ती गाँउलेलाई एक धनाड्य ‘धनराज’ले जग्गा जमिन दिएर गाँउ बसाए । बेरोजगार उनीहरु गजा,चरेस र अफिम खेती गर्न थाले । तर सरकारले केही समयपछि लागूऔषधमा प्रतिबन्ध लगायो । लागू औषधमा प्रतिबन्धपछि छिमेकी देशहरुमा मूल्य बढ्यो । धनको लोभमा धनराजको पछिल्लो पुस्ता गजेन्द्रले ती १२ गाँउको नाका बन्द गरेर लागूऔषधको तस्करी गर्न थाल्यो ।
१२ गाँउ आउजाउ गर्न सबै बाटा बन्द थिए । तर गजेन्द्रको मान्छे आउन जलमार्ग खुला थियो । गजेन्द्रले गाँउलेमाथि अन्याय र अत्याचार गर्न सुरु ग¥यो । अबैध लागूऔषधको कारोबारबाट आर्जित कालोधनमा राज गर्ने गुण्डाहरुको अत्याचार सहन नसकेर गाँउमा अजयको जन्म हुन्छ । सो अजय(समिर भट्ट) र उनको दाजु अर्जुन(विराज भट्ट)ले १२ गाँउमा गर्ने अत्याचारको प्रतिकार नै चलचित्रको मुल कथा हो ।
दुर्वल पक्ष
चलचित्रमा कुनै नयाँ आइडिया(अक्कल)को प्रयोग गरिएको छैन । चलचित्रको एक्सन राम्रो भएपनि पुरानै शैली पछ्याएको देखिन्छ । चलचित्रमा हिरोएनलाई आपतविपत पर्दा अचानक हिरो आईपुग्ने,देख्नासाथ हिरो र हिरोएनको प्रेम बस्ने र अन्तमा हिरोले गुण्डा मारेपछि चलचित्र सकिनेजस्ता पुरानो सुत्र प्रयोग गरिएको छ ।
चलचित्र अभिनय गरिरहेका पात्रमा साउथ चलचित्रबाट सापट लिएको अनुभव हुन्छ । सिधै दक्षिण भारतको चलचित्रको आइडिया(अक्कल) कपि गरिएको छ । पात्र,अभिनयशैली र एक्सन जनरा(विधा)लाई छायांकन स्थलको भरिवेस हेर्दा एउटा मौलिक नेपाली चलचित्रमा ढालिएको छैन ।


नेपाली अनि भोजपुरी चलचित्रमा चर्चा कमाएका अभिनेता विराज भट्टको निर्देशन र अभिनय रहेको चलचित्र ‘१२ गाँउ’मा कथा, पटकथा र संवाद कमजोर छ । चलचित्रको कथा लेखक सन्तोष सरकारले एक्सन, नृत्य र गीतसंगीतलाई राम्रो बनाउने ध्याउन्नमा चलचित्रको मेरुदण्डको रुपमा रहेको कथा, पटकथा र संवादलाई कमजोर छोडेका छन् । चलचित्रको कथा सलल बगेको छैन । धेरै ठाँउमा कथाका अनावश्यक धेरै फुर्का जोडिएका छन् र बीचैमा पात्रहरु अलपत्र छोडिएका छन् । जस्तो कि–समिरसँग प्रेम सम्बन्धमा रहेकी अभिनेत्री सोनु चन्द्रपालको कहानी बीचैमा हराएको छ । चलचित्रका पात्र विराज भट्ट र अभिनेत्री नान्सी खड्काको सम्बन्धको परिभाषा र प्रेम प्रसंग चलचित्रमा पनि अलपत्र छ । चलचित्रको कथा ठाँउ ठाँउमा अलपत्र छन् ।
चलचित्रमा कतिपय दमदार संवाद छ तर चलचित्रमा हाँस्ने ठाँउ भेटिन्न । न त चलचित्र हेरेर आँशु झर्ने ठाँउ छ । चलचित्र हेर्दै जाँदा रुचि बढ्ने, कौतुहल जाग्ने परिस्थिती श्रृजना गरिएको छैन ।
चलचित्रमा एक्सनको दृश्य भएपछि आङ जिरिङ(गुजबम्स) हुने दृश्य छैन । हिरोले गुण्डामाथि आक्रमण गर्दा जोस आउदैन । गुण्डाको हर्कत देखेर दर्शकलाई रिसको पारो बढ्ने ठाँउ भेटिन्न । चलचित्र हेरिरहँदा दर्शकमा सामान्य आक्रोस भने जगाउन चलचित्र सफल छ ।
चलचित्र हेरिरहँदा कथाले मागे अनुसार एक्सन होइन एक्सन अनुसार कथा बुनिएको बुझ्न गाह्रो पर्दैन । निर्देशक भट्टले बुझ्नु पर्ने कुरा हो–कथा पटकथा र संवाद मेरुदण्ड हो एक्सन,गीतसंगीत,हास्य विधा र इमोसन र कौतुहल विषयबस्तु चलचित्रलाई सुन्दर बनाउने अंग हुन् ।
सवल पक्ष
निर्देशक विराज भट्टले नायकको रुपमा समिर भट्टलाई राम्रो तयारीका साथ चलचित्र क्षेत्रमा प्रवेश गराएका छन् । उनको ‘सिक्सप्याक बडी’ले मेहनत झल्काउछ । नृत्य र एक्सनका दृश्यहरुमा समिरले राम्रो मेहनत गरेको अनुभव हुन्छ । एउटा डेव्यु नायकको यति धेरै राम्रो प्रस्तुती हुनु ज्यादै सकारात्मक कुरा हो ।
चलचित्रको छायांकनको क्रममा सुन्दर ढंगलले प्रकाश संयोजन गरिएको छ । जसले चलचित्रलाई अर्को श्रेणीमा पु¥याएको छ । चलचित्रमा प्रयोग गरिएको गीत, संगीत र कलाकारहरुको नृत्य शैली र शिल्पका कारण चलचित्रलाई राम्रो बनाउन सहयो्ग गरेको छ ।

मकवानपुरको टिष्टुङ, पालुङ, मार्खु र चन्द्रगिरी जंगलजस्ता सुन्दर र फरक ठाँउहरुमा चलचित्रको छायाँकन गरेर फरक स्वाद लिने प्रयास गरिएको छ । भारतको वारायसी शहर र हिन्दी संवादले चलचित्रको कथासँग साक्षत्कार भएको अनुभव हुन्छ । मकवानपुरको पुरानो बस्ती कुञ्छाल गाँउलाई ‘१२ गाँउ’ चित्रण गर्दै चलचित्र अघि बढाइएको छ । बज्रवाराहीको घना जंगल यात्राले डरलाग्दो पाटोलाई सजीव ढंगले चलचित्रको पर्दामा चित्रित गरिएको छ । पुराना दरवार, घना जंगल, खोला र (पानीजहाज)ले चलचित्रको फरक स्वाद पस्कन सहयोग गरेको छ ।
प्राविधिक पक्ष
चलचित्रको प्राविधिक र पोष्ट पोडक्सनमा राम्रो मेहनत देखिन्छ । पार्श संगीत पनि फरक सुनिन्छ । कतिपय ठाँउमा पार्शसंगीत झर्कोलाग्दो सुनिए पनि धेरै ठाँउमा मिठो लाग्छ । चलचित्रको ध्वनी संयोजक मुकेश शाहले अव्वल काम गरेका छन् । भुपेन्द्र अधिकारीले चलचित्रको राम्रो सम्पादन गरेका छन् । समिर मियाको भिएफएक्समा राम्रो मेहनत छ । रामजी लामिछानेको कोरियोग्राफी उत्तम छ ।
प्रकाशसँग खेल्दै चलचित्रको उत्कृष्ट छायांकन छ तर कतिपय ठाँउमा न्यून प्रकाशका कारण अध्यारा दृश्यहरुमा चाही कतिपय दर्शकलाई दिक्दारी (मोनोटोनस) लाग्न सक्छ ।
स्टारकास्ट(कलाकार छनौट) पनि पुराना र नयाँ समिश्रण छ । पुराना जमानाका मुरलीधर, दिया मास्के, सुलेमान शंकरदेखि सनिसा भट्टराई र समिर भट्टजस्ता कलाकारको अभिनय हेर्न पाइन्छ । एक्सन जनराको चलचित्र निर्माण गर्दा ठूलो लगानी, लामो छायाँकन समयावधि र प्रस्तुतीकरणका क्रममा क्रुरता र जोखिमपूर्ण हुन्छ । फरक एक्सन जनरामा लगानी गरेर निर्माता सरस्वती भट्टले नेपाली चलचित्रका योगदान दिनु खुशीको कुरा हो ।


विराज भट्ट
नेपाली चलचित्रमा लामो समयपछि पुर्नप्रवेश गरेका अभिनेता विराज भट्टको एक्सन हेर्न लायक छ । उनको अभिनयमा भने पुरानै स्वाद भेटिन्छ । उनले चलचित्रमा नयाँ अभिनयशैली पछ्याएका छैनन् । भेषभुसाका कारण उनलाई चलचित्रको नायक भन्न सुवाउदैन । उनले सुन्दर अनुहार बनाएका छैनन् । चिटिक्क कपडा लगाएका छैनन् । लामो कालो दाह्री र जिङ्रिङ कपाल उनलाई सुवाएको छैन ।


समिर भट्ट
चलचित्रको नायकको भूमिकामा रहेका रमिर भट्टको नृत्य र एक्सन उत्कृष्ट छ । उनले शरिर पनि सुन्दर बनाएका छन् । अभिनयशैली खासै उल्येखनीय छैन । चरित्रचित्रणमा पनि उनल केही मेहनत भने गरेका छन् । युवाजमातमा देखिने स्पोट्स् मोटरसाइकलमा हुइकिने उनको आनीबानीले चलचित्रमा फरक हिरोको छाप छोडेको देख्न पाइन्छ ।
अग्लो शरिरले पनि उनको व्यक्तित्व निर्माणमा सहयोग पुगेको छ ।
आउँदा चलचित्रमा फरक गेटअप(साजसज्जा)सँगै आफूलाई नयाँ चरित्रमा उतार्दै अभिनयमा सुधार गर्ने हो भने अभिनेता समिरले चलचित्र क्षेत्रमा छलाङ मार्नेमा शंका गर्न ठाँउ छैन । अभिनेता समिर भट्टको कलात्मक क्षमता हेर्दा डेव्यु अभिनेताको अभिनय हेरिरहेको अनुभव हुँदैन । समिरको लुक्स(अनुहार)ले पनि नायकत्वमा सहयोग गरेको छ । उनको निर्दोश हेराई र साधारणपनले चलचित्रको पात्र र चरित्र राम्रो बनेको छ ।


दिपक केसी
फोटोपत्रकार समेत रहेका डुव्यु कलाकार दिपक केसी पनि चलचित्रमा देखिन्छन् । उनले अभिनेता विराज भट्टको काकाको रुपमा खलपात्र र अभिनेता भट्टको सहयोगी बनेर अभिनय गरेका छन् । उनी खलपात्रको सहयोगी भए पनि अत्याचार अन्त्य गर्न सहयोगी बन्न गरेको संर्घष हेर्न लायक छ । उनको अभिनय कुनै निखारिएको कलाकारको भन्दा कम छैन । चलचित्र क्षेत्रमा केसी राम्रो सम्भावना बनेर आएका छन् ।


सनिशा भट्टराई
डेव्यु अभिनेत्री सनिशा भट्टराई चलचित्रको मध्यान्तरपछि प्रवेश हुन्छ । उनको भूमिका तुलनात्मक रुपमा छोटो भए पनि शसक्त छ । म्युजिक भिडियोमा जमेकी भट्राईको चलचित्रमा प्रवेश सुन्दर ढंगबाट भएको छ । उनले अभिनय पनि औसत राम्रो गरेकी छिन् । उनको लुक्स सोझी निर्दोस युवतीको झैं देखिएको छ । उनले आफ्नो भिन्न भिन्न अभिनयशैली र नयाँ चरित्रमा आफूलाई ढाल्दै अभिनय गर्ने हो भने नेपाली चलचित्रमा सम्भावना छ ।


मुरलीधर
खलपात्रमा अभिनय गरेका नेपाली चलचित्रका पुराना कलकार मुरलीधरको अभिनयमा पुरानो गन्ध आउँछ । मकवानपुरको मल्लकालीन दरवार संरचनामा मुरलीधरको प्रस्तुतीले फरक अनुभव भने हुन्छ । उनकोे भुषभुसा र डरलाग्दो भावभंगीले गुण्डाचरित्रको आभास गराउछ ।


सुलेमान शंकर (इकु)
निर्देशक भट्टले हास्यकलाकार सुलेमान शंकरमार्फत फरक स्वाद पस्कने कोसिस गरेका छन् । तर उनको अभिनयमा दम छैन । एक्सन चलचित्रमा सुलेमान ‘हलुवामा वालुवा’जस्ता छन् । उनले न हसाउछन्, न एक्सनमा कुनै राम्रो प्रस्तुती दिएका छन् । मजाक, मसला र मनोरञ्जनको रुपमा सुलेमानलाई प्रयोग गरेर चलचित्रमा मिठो मसला थप्न सकिन्थ्यो । जुन चलचित्रमा देखिन्न । यद्यपी ठाँउ ठाँउमा उनले हँसाउने प्रयास भने गरेका छन् ।
कलाकार दिया मास्केले यतार्थपरक अभिनय गरेकी छिन् । सन्तोष सरकार, न्यन्सी खड्का,कानिज कोइराला, कृष्ण भट्ट,कालु राणा,अर्जुनजंग शाही र सोनु चन्द्रपाललगायतको अभिनय औसत छ ।
अन्तमा

समयानुकुल चलचित्र निर्माणका लागि निर्माण पक्षले स्टारकास्ट(कलाकार छनौट)मा नयाँ ढंगले सोच्नु पथ्र्यो । चलचित्रको कथा, पटकथा र संवादलाई सशक्त बनाउन मेहनत पुगेको छैन । चलचित्र ‘१२ गाँउ’मा नेपालीपन मिसाउन र प्रस्तुतीमा नयाँपन ल्याउन मेहनत गर्न सकिन्थ्यो । एक्सन जनराको चलचित्र भन्ने वित्तिकै दक्षिण भारतको जस्तै लुक्स भएका कलाकार र परिभेष जरुरी हुन्छ भन्ने सोच्नु गलत छ । मौलिक चलचित्र बनाउन निर्माण पक्षले गृहकार्य गरेको भए उत्कृष्ट एक्सन चलचित्र निर्माण पक्कै हुन्थ्यो । चलचित्र ‘१२ गाँउ’ उत्कृष्ट चलचित्र बन्न सकेको छैन यद्यपी ‘१२ गाँउ’ एउटा राम्रो एक्सन चलचित्र हो ।

 

 

 

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १० : ०७ बजे