९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार जना कलाकारको संयुक्त बादन र नृत्य प्रस्तुत



५ कात्तिक । काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा १ हजार कलाकारहरूको संयुक्त प्रस्तुति प्रदर्शन भएको छ । विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना वाद्य कलाकारहरूले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए ।

बादनमा मा धिमे (ठुलो धिमे) र धुन्याबाट कार्यक्रम सुरु भएको थियो । यसपछि चिगो (सानो धिमे), घौ, भुस्या, पोङ्गालगायत मौलिक बाजागाजाका बोलमा ६५० जना नृत्य कलाकारले गद्दी बैठक अगाडि र शिवपार्वती डवलीमा नृत्य गरेका थिए । बादन र नृत्यको सुदनमान मुनिकारले निर्देशन गरेका थिए ।

मुनिकारका अनुसार यस प्रस्तुतिमा ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकार सहभागी थिए । यसका लागि उपत्यका बाहिर धरानदेखि पनि कलाकार आएका थिए ।

यससँगै झोछेँ प्रवेश मार्गतर्फ १२५ जना कलाकारले फ्युजन अर्केष्ट्रा प्रस्तुत गरेका थिए । स्थानीय खलपुचःका वाद्यवादन समूह, नेपाल प्रहरी संगीत विद्यालयको प्रहरी ब्यान्ड, नेपाली सेनाको गुर्जु पल्टन, कुटुम्ब ब्यान्ड, भ्याइलिन समूहसँगै पहिलो पटक दबदब समूहको अर्केष्ट्रामा बादन प्रस्तुत भएको थियो । बादनमा चर्या नृत्य, मयुर नृत्य, नेवारी नृत्य प्रस्तुत गरिएका थिए ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ दरवार स्क्वायर पर्यटन प्रवर्धन संघले कार्यक्रम आयोजना गरेको थियो । विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम गर्न असोज ११ र १२ गते कार्यक्रमको तयारी थियो । अविरल वर्षाका कारण त्यस बेला रोकिएको कार्यक्रम हिजो सम्पन्न गरिएको हो ।

सांस्कृतिक क्रियाकलापमार्फत पर्यटन प्रवर्धनको उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा बादन, गायन र नृत्यसँगै हस्तकला तथा नेपाली उत्पादनका सामग्रीको प्रदर्शनी, मौलिक खानाका स्टलहरू राखिएका थिए ।

यस बेला वसन्तपुर घुम्न आउने पर्यटकलाई वग्गीमा राखेर घुमाइएको थियो । यस्तै औपचारिक कार्यक्रम अवसरमा आइपुगेका पर्यटकलाई अतिथिका रूपमा आसन ग्रहण गराएर नेपाली टोपीले स्वागत गरिएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ११ : ११ बजे