८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


‘नदै गुफा’ प्रवर्द्धन गर्न सम्मेलन गरिदै



यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ

जुम्ला
१७ कात्तिक । जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल ‘नदै गुफा’लाई पर्यटन प्रवर्द्धन गर्न सम्मेलनको आयोजना गरिने भएको छ ।

वडाध्यक्ष धनबहादुर रावतले स्वदेश तथा विदेशसम्म गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले यसै वर्ष सम्मेलन गर्ने तयारी भएको जानकारी दिएका छन् । “पूर्वाधार निर्माणका साथै प्रचारप्रसारका लागि सम्मेलन गर्ने योजना छ । त्यसले स्थानीयको चिन्ता सम्बोधन र हाम्रो चाहना पूरा गर्न सघाउ पुग्नेछ”, उनले भने ।
गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक संरचना निर्माणका लागि पालिकाले रु ८१ लाख २६ हजारको बोलपत्र आह्वान गरेको जानकारी दिएका छन् ।

गुफा परिसरमा मन्दिर पुनः निर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त ससर्त अनुदानमार्फत सो बजेट विनियोजन भएको उनले बताएका छन् । सङ्घीय सरकारबाट प्राप्त बजेटबाट धर्मशाला, सडकबत्ति, रेलिङ्ग र गुफाको फोटोलगायत भौतिक संरचना निर्माण गरिनेछ ।

वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागिसमेत सङ्घीय सरकारबाट बजेट व्यस्थापन भएको छ । “अलपत्रमा रहेको ‘नदै गुफा’लाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागत रुपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने गरेका देख्न सकिन्छ”,उनले भने,“यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।”

गुफा ऐतिहासिक रुपमा महत्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकोे स्थानीयवासिको गुनासो रहेको छ । उक्त गुफासम्म पुग्नका लागि मोटर बाटो सहज छैन । प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटक आवागमन बढ्ने र त्यसबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासी समिर बोहोराको भनाइ छ ।

तिला– ९ का हेमराज रावतले गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा त्यस क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्न सकेको छैन । यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने उहाँको विश्वास छ ।

–––

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ०१ बजे