१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रेस काउन्सिलले राख्यो चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा



कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डट कम, खोजतलासअनलाइन डट कम छन्
काठमाडौँ
२५ कात्तिक । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी  छानबिन गरिरहेको जनाएको छ ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले उक्त निर्णय गरेको हो । काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको हो । दसैंअघि काउन्सिलले तीनवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।
आज एक साप्ताहिक, एक टेलिभिजन र दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको हो । काउन्सिलले कालोसूचीमा राखेका सञ्चारमाध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिष्ट्रारको कार्यालयलाई समेत दिएको छ ।
कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डट कम, खोजतलासअनलाइन डट कम छन् । काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको छ ।
त्यसैगरी, आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारबाहीका लागि काउन्सिलले सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ । त्यसमा दियोपोष्ट डट कम, मोटिभेटन्यूज डट कम, एवननेपालन्यूज डट कम, अनलाइनटिभिनेपाल डट कम, राइटसञ्चार डट कम, ताजाखबर टिभि र विजिटिभी (युट्युब च्यानल) छन् ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरु ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको हो । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासङ्घ र बार एसोसिएसनको समेत प्रतिनिधित्व हुन्छ ।
प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमनसमेत गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।