७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमतीमा फेरि मन्त्रालय फुटाइँदै



२६ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले विना विभागीय मन्त्री मदूकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिनका लागि पुनः मन्त्रालय फुटाउने तयारी गरेका छन् । मन्त्रालय भन्दा धेरै मन्त्री नियुक्त गरिएको बागमतीमा मन्त्रीलाई भाग पुर्‍याउन पुनः एक मन्त्रालय बढाउने कसरत सुरु भएको हो ।

गत साउन ९ गते मन्त्री नियुक्त भएका श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय विभाजनको गृहकार्य थालिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय बढाउने विषयमै सहमति हुन नसक्दा लामो समयसम्म विभागविहीन बसेका मन्त्री श्रेष्ठलाई कात्तिक अन्तिमसम्म जिम्मेवारी प्रदान गर्न लागिएको बताइएको छ ।

बागमतीमा मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय छन् । तर मन्त्रिपरिषद् १४ सदस्यीय छ । मन्त्रालय नतोकिएका कारण विना विभागीय मन्त्री श्रेष्ठ विगत साढे तीन महिनादेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा कोठामा बस्दै आएका छन् ।

नेकपा एमालेले सम्हालेको मन्त्रालय विभाजन गर्न नमानेपछि हाल कांग्रेस नेतृत्वमा रहेका मन्त्रालयहरू विभाजन गरेर नयाँ मन्त्रालय बनाउन लागिएको कांग्रेसका एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजनको तयारी गरिएको छ । उक्त मन्त्रालयको सहकारी र मुख्यमन्त्री कार्यालय मातहतमा रहेको स्थानीय विकासको जिम्मेवारी विभाजन गरी प्रदेश मामिला तथा सहकारी मन्त्रालय बनाउने विषयमा छलफल भइरहेको हो ।

गत साउनमा सरकार गठनका बेला कांग्रेस र एमालेबीच मुख्यमन्त्रीसहित ७ कांग्रेसलाई र ६ एमालेलाई मन्त्रालय भागबण्डा लागेको थियो ।

लामाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन थप एक जनामन्त्री नियुक्त गरेका थिए । कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले आर्थिक मामिलामन्त्री नियुक्त भइसकेका प्रभात तामाङलाई शपथ अगाडि नै हटाएर कुन्दनराज काफ्लेलाई सोही मन्त्रालय दिनुपर्ने अवस्थासम्म मुख्यमन्त्री लामा पुगेका थिए ।

बागमतीमा प्रदेश सरकारको पहिलो कार्यकालबाटै मन्त्रालय फुटाउने क्रम चलिरहेको छ । भदौ ०७८ मा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाउँदै मन्त्रालय संख्या ८ वटा बनाएकी थिइन् । शाक्य दुई महिनामै सत्ताच्यूत भएपछि ११ कात्तिक ०७८ मा मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डेले गठबन्धन सरकारमा भागबण्डा पुर्‍याउन १४ वटा मन्त्रालय बनाए ।

पाण्डेको कार्यकालमा मन्त्रिपरिषदमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री थिए । निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंसिर ०७९ मा १४ वटा मन्त्रालय ११ वटामा झारेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ५ : ५४ बजे