८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाँगुनारायण नगरपालिकामा हरिबोधनी एकादशीका अवसरमा सार्वजनिक बिदा



नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय, आकस्मिकबाहेकका सबै स्वास्थ्य संस्था, शैक्षिक संस्था, सरकारी, सार्वजनिक संस्थालाई बिदा दिने निर्णय

भक्तपुर
२७ कात्तिक । चाँगुनारायण नगरपालिकाले चाँगुनारायण मन्दिरमा मेला लाग्ने अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्दै आज नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय, आकस्मिकबाहेकका सबै स्वास्थ्य संस्था, शैक्षिक संस्था, सरकारी, सार्वजनिक संस्थालाई बिदा दिने निर्णय गरेको बताएका छन् ।
मन्दिरमा मेला भर्न र व्यवस्थापन गर्न आज बिदा दिएको उनले जानकारी दिए । सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको प्रमुख खत्रीले जानकारी दिए ।

 

भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शंन गर्ने

चाँगुनारायण मन्दिरमा घुइँचो
हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।
चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रूपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिएका छन् ।

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्यप्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शंन गर्ने गर्दछन् ।

आज चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेहरूले पनि चाँगुनारायणको मात्रै दर्शन गरे पनि चार नारायणको दर्शन गरेबराबरको पुण्यप्राप्त हुने मान्यता रहेकाले यस मन्दिरमा बिहानदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको पुजरी राजोपाध्यायले बताए ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रूपमा विशेष पूजाअर्चना गरेर मनाइने पुजारी राजोपाध्यायको भनाइ छ ।

हरिशयनी एकादशीका दिन घरघरमा तुलसी रोपेको तुलसीको आज परम्पराअनुसार तुलसीको मठलाई सिङ्गारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराइएको छ । आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिडाँलु, सख्खरखण्ड, तरुणका परिकार खाने प्रचलन रहेको छ ।

नगरपालिकाले पहिलोपटक मेलाको व्यवस्थापन गरेको छ । मेलाको व्यवस्थापनका लागि चाँगनारायण नगरपालिकाले चारैवटा नाकामा स्वागतद्धार निर्माण गर्नुका साथै मन्दिरलाई सिङ्गारेर झिलीमिली बत्तीहरू हालेर मन्दिरलाई आकर्षक बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए ।

उनका अनुसार मन्दिर प्रवेश गर्ने सिढीँहरु, मन्दिर परिसर र आसपासका क्षेत्र सफा गरेका छौँ, मन्दिर सिङ्गारिएर झकमक्क बनाइएको छ । साँझ झलमल्ल बत्ती बालेर मन्दिर चारैतिरबाट उज्यालो बनाइएको छ । मन्दिर प्रवेश गर्ने नाका र चाँगुनारायण प्रवेश गर्ने नाकामा स्वागतद्धार बनाइएको छ । मन्दिरमा सहज दर्शनका लागि स्वयंसेवक परिचालनदेखि स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ ।

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले गएराति मन्दिरको अनुगमन गरी रातिदेखि नै मेला भर्नेका लागि सहज व्यवस्थापन मिलाएको बताए । उनले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्नेगरी सडकको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यबस्थापनको तयारी गरिएको उनले बताए ।

 

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ९ : ३३ बजे