३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


घरजग्गाको कारोबारमा आएन सुधार, उपत्यकामै धेरै कर लगनखेलले उठायो, थोरै गोटिखेलमा



काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ
काठमाडौँ
३ मङ्सिर । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।
असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो ।
विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ ।
मालपोत कार्यालय गोटीखेल ललितपुरले रु चार लाख ६७ हजार सात सय २०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेको छ । विभागका अनुसार मालपोत कार्यालय चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्की मालपोत कार्यालयले रु १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले रु चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले रु पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले रु तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ ।
मुलुकभर एक सय ३३ मालपोत कार्यालय छन् । ती कार्यालयले रु १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पूँजीगत लाभकर रु ९३ करोड ७७ लाख ९१ हजार आठ सय २० सङ्कलन गरेको छ ।
विभागका अनुसार गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५, भदौमा रु तीन अर्ब नौ करोड दुई लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो ।
देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १ : ०७ बजे