८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस आकस्मिक बैठकः शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने



३ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले कांग्रेस मर्माहत र स्तब्ध भएको निर्णयमा उल्लेख गरिएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना विसं २०४८ को आमनिर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी भई २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।

यसैगरी उनी विसं २०५१ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट कांग्रेसको उम्मेदवार थिए । नेपाली कांग्रेसका विभिन्न पदमा रहेर उहाँले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुंगाना ले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ । उनको निधनबाट सिंगो देशले वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ ।

पूर्वसभामुख ढुंगाना को निधनप्रति केन्द्रीय कार्यसमिति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

स्वर्गीय ढुंगाना प्रति सम्मान प्रकट गर्दै कांग्रेसले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने भएको छ । मङ्सिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ३ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।