६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने



११ मंसिर । जिल्लाका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढी पहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंक (एडिबी) ले पुनःनिर्माणमा सहयोग गर्ने भएको छ । एडिबीका देशीय निर्देशक अनौड कौकोइससहिका पदाधिकारी तथा खानेपानी आयोजनाको बोर्ड अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूको टोलीसँग सोमबार भएको छलफलपछि आयोजना पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्ध जनाइएको हो ।

निर्माणाधीन आयोजनाको अन्तिम चरणमा बाढी पहिरोले क्षतिग्रस्त बनाएको थियो । आयोजना पुनः निर्माणका लागि एडिबीले सहयोगको प्रतिबद्धता जनाएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए । उनका अनुसार एडिबीले यस खानेपानी आयोजना पुनः निर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिदिने र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको हो । बाढी पहिरोबाट आयोजनाको इन्टेकलगायत अन्य ट्याङ्की तथा वितरण मेनलाई एवं शाखाका पाइप लाइनमा क्षति पुर्‍याउँदा २१ करोड ८० लाख रुपैयाँ बराबरको खानेपानीको संरचना नष्ट भएको ब्याञ्जूले बताए ।

धुलिखेल, बनेपा र पनौती नगरपालिकामा खानेपानी समस्या समाधानार्थ सन् २०१२ मा उक्त आयोजना सुरु गरिएको थियो । सम्पन्नको अन्तिम चरणमा रहेको आयोजना गत असोज ११ देखि १२ गतेको वर्षासँगै आएको बाढी पहिरोले क्षतिग्रस्त बनाएको हो । उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार जना लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । आयोजनाबाट तीन नगरका स्थानीयका घरघरमा चौबीसै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्‍याउने जनाइएको छ ।

आयोजनाको लागत मूल्य भ्याटबाहेक ९९ करोड आठ लाख सात हजार रूपैयाँ रहेको छ । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रूपमा हेरिएको थियो ।

यसैबीच बाढी पहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनः निर्माणका लागि जर्मन सरकारले सहयोग गर्ने भएको छ। नगरले यही कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा.थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनः निर्माणका लागि प्रस्ताव गरेपछि जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत नेपालस्थित दूतावासले एक करोड ४५ लाख रूपैयाँ रकम सहयोग गर्ने सहमति भएको हो ।

जर्मन सरकारबाट प्रस्तावको कार्यान्वयन भएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । उनका अनुसार राजदूत प्रिन्जले आयोजनाका द्विपक्षीय सम्झौता गरी रकम निकासा गर्ने छन् । करिब तीन दशक अघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनः निर्माण गर्न तीन करोड ५१ लाख रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको ब्याञ्जूले बताए ।

जर्मनबाट सहयोग प्राप्त उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनः निर्माण गरिने जनाइएको छ । गत असोज दोस्रो साताको बाढी पहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ वडाका उपभोक्ता एक महिनादेखि खानेपानी विहीन अवस्थामा छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।