६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाकांल मन्दिर परिसर चौघेरा सत्तलको पुनर्निर्माण शुरू



२४ मंसिर । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको पुनर्निर्माण शुरू गरेको छ। महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आज (सोमवार) जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गरेकी हुन्।

शिलान्यासमा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा-८ का अध्यक्ष आशामान संगत, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक एवं वडा-२२ का अध्यक्ष चिनीकाजी महर्जन, शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, कार्यपालिका सदस्यहरू, गुठियार, पुजारीसहित सरोकारवालाले जग पूजा गरे।

उपप्रमुख डंगोलले काठमाडौँका सम्पदाको प्राचीनता र मौलिकता तस्वीरमा नभइ वास्तविकतामा हेर्न मिल्ने बनाउने बताइन्। उनले भनिन्, ‘प्राचीनता जोगाउन सबै पक्षबाट सहयोग र समन्वय हुने अपेक्षा गरेका छौँ, व्यक्तिलाई समस्या परे भगवानका शरणमा जाने गरिन्छ, भगवान स्थलमा हुने क्रियाकलापमा उतारचढाव नहोस्, समयमा कार्य सम्पन्न हुन सकोस्, सबै मिलेर यही प्रण गरौँ।’

सम्पदा समितिका संयोजक संगतले पुर्खाले दिएको नासो जोगाउने अभिभारालाई सबैले दायित्वका रुपमा ग्रहण गर्नुपर्ने बताए।

सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार योजनाको लागत अनुमान १० करोड १० लाख ७९ हजार २७९ रुपैयाँ छ। सार्वजनिक खरिद प्रक्रियाबाट १० करोड ५ लाख १० हजार ६१९ रुपैयाँ कबोल गर्ने विनायक/एसपि/बोहोरा जेभी निर्माण कम्पनीसँग सम्झौता भएको छ।

विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालले सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलको हुने जानकारी दिए। उनका अनुसार हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ।

यसमा जमिन तलामा ९ वटा कोठा हुनेछन्। पहिलो तलामा ३ वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछन्। यसमाथि बुइँगल हुनेछ। विसं १९९७ सालमा खिचिएको तस्वीरका आधारमा पुनर्निर्माण गरिन लागेको हो।

मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ। पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेश द्वार हुनेछ। सत्तल झिँगटीको छानायुक्त हुनेछ। यसको विस्तृत परियोजना प्रतिवेदन शहरी योजना आयोगले तयार पारेको हो।

सत्तल पुनर्निर्माणका लागि २०८० फागुन ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो। यसबाट ५ वटा प्रस्ताव पेश भएका थिए। यीमध्ये ४ वटाको प्राविधिक प्रस्ताव अस्वीकृत भए।

निर्माण पक्षलाई गएको असार १९ गते कार्यादेश दिइएको हो। सत्तलको निर्माण अवधि २०८३ असार १९ गतेसम्म तोकिएको छ। मन्दिरका पुजारी दिपकहर्ष बज्राचार्यका अनुसार यो मन्दिर करिब १ हजार ३०५ सय वर्ष अगाडि निर्माण भएको हो

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।