३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ उपत्यकामा अध्याधिक चिसोे, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस



काठमाडौँ
काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।

आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताएका छन् । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।

आज ६ः४५ बजे सूर्योदय हुनेछ भने अपराह्न ५ः१० मा सूर्यास्त हुनेछ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

शुक्रबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।