९ पुस । भीषण बाढी-पहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित शहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार जिल्लाका ३ हजार ३३८ निजी आवासमा क्षति पुगेको छ ।
कुल क्षति पुगेको निजी आवासमध्ये २ हजार ५७७ घर पूर्ण रूपमा क्षति भएका छन् । ७५१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् ।
कार्यालय प्रमुख भूमिनन्द ढकालका अनुसार १२ सरकारी भवनमा पूर्ण रूपमा क्षति पुगेको छ भने १३५ वटामा आंशिक क्षति पुगेको छ ।
आठ सार्वजनिक भवन पूर्ण क्षति भएका छन् भने १३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढी पहिरोबाट बढी प्रभावित भएका छन् ।
घर पूर्ण रूपमा क्षति भएकामध्ये बेथानचोक गाउँपालिकामा ६२९, नमोबुद्ध नगरमा ४८९, रोशीमा ३५० र तेमालमा ४३९ घर छन् ।
त्यसैगरी चौरीदेउराली गाउँपालिकामा १३४, भुम्लुमा १२२, धुलिखेल नगरमा ८०, पाँचखाल नगरमा ७६, पनौती नगरमा ५९, बनेपा नगरमा ४७, मण्डनदेउपुर नगरपालिकामा ८४ तथा खानीखोला गाउँपालिकामा ४५ र महाभारतमा २३ घर पूर्ण रूपमा क्षति भएको कार्यालयले जनाएको छ ।
जिल्लामा स्थानान्तरण गर्नुपर्ने घरपरिवारमध्ये चौरीदेउरालीमा २३, मण्डनदेउपुरमा १३, पाँचखालमा १३, रोशीमा ९, खानीखोला र बेथान्चोकमा ५-५ घरपरिवार छन् ।
बाढी पहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा ६ जना बेपत्ता छन् । जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विवरणअनुसार पुनर्निर्माण तथा पुनः स्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको कार्यालय प्रमुख ढकालले बताए ।
उनका अनुसार २० वटा सरकारी तथा सार्वजनिक भवन पुनर्निर्माण गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया