६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थानकोट–चित्लाङ सडक बिहान–बेलुका मात्रै खुला



९ पुस । सडक डिभिजन कार्यालय काठमाडौंले एक महिनाका लागि पूर्णरुपमा बन्द गरेको मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) बिहान र बेलुकाका लागि मात्रै खुला गरिएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गर्दै विकल्प बिना सडक बन्द गरिएको भन्दै नागरिक स्तरबाट विरोध गरिएको थियो ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिको विरोधपछि बिहान र बेलुका मात्रै साधन आवागमन गर्न दिने गरी सहमति भएको हो ।

थाहा नगरपालिका वडा नं. ९ का कार्यवाहक वडाध्यक्ष रामकृष्ण कपालीले सडक पूर्णरुपमा बन्द गर्दा यात्रुहरुलाई हुने असुविधालाई दृष्टिगत गरी सडक डिभिजन कार्यालयसँगको सहकार्यमा आंशिक रुपमा सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

थानकोट–चित्लाङ सडक स्तरोन्नतिका क्रममा बिहान ८ देखि दिउँसो ४ बजेसम्म बन्द हुने र सो बाहेकको समय सवारीका साधन सञ्चालन गर्न सकिने वडा कार्यालयले जनाएको छ ।

साथै कावा वडाध्यक्ष कपालीले चन्द्रागिरी नगरपालिका वडा नं. ४ को कार्यालय, प्रहरी चेकपोष्ट, चन्द्रागिरी र ईलाका प्रहरी कार्यालय, चित्लाङलाई आवश्यक सहयोग तथा समन्वयका लागि पत्राचार गरेका छन् ।
थाहा नगरपालिका वडा नं. १० का दीपक गोपालीले सडक डिभिजन कार्यालय, काठमाडौं र वडाध्यक्षसहित गएको प्रतिनिधिमण्डलबिच बिहान ९ बजे अगावै र दिउँसोको ४ बजेपछि सवारी साधन प्रवेश गरिसक्नुपर्ने गरी सहमति भएको जानकारी दिए ।

उनले कामको प्रगति हेरी आगामी दिनमा निर्माण व्यवसायीलाई कामको वातावरण बनाउन स्थानीयले सहयोग बताउँदै निर्माण व्यवसायीका लागि काम गर्न अझै पनि समय पर्याप्त भएकाले स्थानीयलाई असर नपर्ने गरी कामलाई अगाडि बढाउने बारेमा छलफलभएको बताए।

सडक डिभिजन कार्यालय काठमाडौंले यसअघि थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रगिरिभञ्ज्याङ खण्ड पुस ७ गते आइतबारदेखि आगामी माघ ६ गतेसम्म पूर्ण रुपमा आवागमन बन्द हुने जनाएको थियो ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।