६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रदेश सरकारले कर निर्धारणमा नीतिगत भ्रष्टाचार गरेको बालेनको आरोप



१८ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेश सरकारले कर निर्धारणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । आर्थिक ऐनमा प्रदेश सरकारको नीतिगत चलखेलका कारण काठमाडौं महानगरपालिकाको करसमेत घटेको उनले बताए ।

महानगरपालिकाको लेखापरीक्षण प्रवेश बैठकमा बोल्दै उनले प्रदेश आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरे ।

‘क्यासिनो, स्काई वक र मेला–महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने, ‘पहिले आकासे सिसाको पुलमा पाँच प्रतिशत कर थियो । यसबाट महानगरपालिकालाई वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ । यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ । पहिले क्यासिनोमा खर्च गरिएको रकमको पाँच प्रतिशत शुल्क थियो । अहिले प्रतिटिकटमा ५० रुपैयाँ तोकिएको छ । पहिले मेला–महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको पाँच प्रतिशत कर थियो । अहिले महानगरपालिकाभित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ ।’

यस्ता नीतिगत भ्रष्टाचारलाई सम्बोधन गर्न उनले आग्रह गरेका छन् । उनले थप भने, ‘यसरी राजस्व घटेपछि महानगरपालिकाले चलचित्र, कला तथा सिर्जनाको प्रोत्साहन तथा प्रवर्द्धनमा कार्यक्रममा बजेट राख्न पाएन । अर्कोतिर संविधानले स्थानीय सरकारको एकल अधिकारका रूपमा दिएको वहाल कर संघीय सरकारले संकलन गरिरहेको छ । यसबाट पनि महानगरपालिकाको आय घटेको छ । नीतिगत यस्ता विषयलाई पनि लेखापरीक्षणका क्रममा औँल्याउनुपर्छ ।’

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।