२४ पुस । देह व्यापारमा संलग्न एक युवती (यौनकर्मी)लाई चक्कु प्रहार गरी फरार युवक साढे दुई महिनापछि पक्राउ परेका छन् ।
दोलखाको शैलुङ गाउँपालिका– ५ का २२ वर्षीय युवक रविन बस्नेत पक्राउ परेका हुन् ।
उनले २२ वर्षीया युवती लक्ष्मी नकर्मी (नाम परिवर्तन)माथि कात्तिक ८ गते काँडाघारीमा छुरा प्रहार गरेका थिए ।
रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रलाई आधार मानेर देह व्यापारमा संलग्न नकर्मीसँग शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछि वादविवाद हुँदा छुरा प्रहार भएको थियो ।
यौनजन्य क्रियाकलाप तथा मनोरञ्जन व्यवसायमा संलग्न युवतीका तर्फबाट प्रशासनिक तथा कानूनी सहायतामा सहजीकरण गर्ने संस्था श्रमिक महिला रक्षा संघको पहलमा बस्नेत पक्राउ परेका हुन् ।
उनी अहिले प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा छन् । बस्नेत पहिला सार्वजनिक यातायातको सहचालक र अहिले एक सिमेन्ट डिपोमा भरियाको काम गर्छन् ।
पीडित युवती कपन बालुवाखानीस्थित सुकुमबासी बस्तीमा बस्छिन् ।
युवतीसँग रहेको बस्नेतको मोबाइल नम्बरका आधारमा छानबिन शुरु भएपछि उनी भागेर दोलखा गएका थिए ।
पक्राउ परेका बस्नेतका विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ ।
प्रतिक्रिया