२६ पुस । काठमाडौं उपत्यकामा दैनिक प्राण घातक विषादीयुक्त तरकारी भित्रिने गरेको पाइएको छ । काठमाडौं उपत्यका भित्रिएका सिजनबाहेक बेमौसमी तरकारीमा ९९.२३ प्रतिशतसम्म कार्वामेट र अर्गानोफस्फेट कीटनाषक विषादी भेटिएको हो।
जसमा सबैभन्दा बढी सिमी, साग, ब्रो काउली हरियो खुर्सानी र फर्सीमा पटक-पटक खान अयोग्य हुने गरी अत्याधिक विषादी भेटिएको कालीमाटी फलफूल तथा तकारी बजार विकास समितिले जनाएको छ।
समितिले गर्ने दैनिक विषादी परीक्षणको क्रममा उल्लेखित तरकारीमा पुस महिनामै १४ पटकसम्म ९९.२३ प्रतिशत अर्गानोफस्फेट कीटनाषक विषादी भेटिएको हो। कार्वामेट र अर्गानोफस्फेट दुवै कीटनाशक विषादी हुन्।
विषेशगरी पुस महिनादेखि फागुनसम्म सिजनका तरकारी उत्पादन हुँदैन। यसबीच उत्पादन हुने बेमौसमी तरकारीमा बढी विषादीको मात्र भेटिने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। जसले गर्दा यसबीच विषादी परीक्षणलाई चुस्त बनाइएको भन्दै उपभोक्तालाई सचेत हुन भन्दै सूचना जारी गरेको छ।
पुस महिनामै उपत्यका बाहिरबाट १४ पटक भित्रिएको तरकारीमा विषादी भेटिएको छ। जसमा पुस ५ गते सर्लाहीबाट आएको टाटे सिमीमा ४९.४५ प्रतिशत कार्वामेट र ४९.४४ प्रतिशत अर्गानोफस्फेट, पुस ७ गते सर्लाहीबाट आएको टाटेसिमीमा ५८.०९ प्रतिशत अर्गानोफस्फेट, पुस ८ गते सर्लाहीबाट आएको टाटेसिमीमा ४६.५९ प्रतिशत कार्वामेट र २०.४९ प्रतिशत अर्गानोफस्फेट, चितवनको फर्सीमा ४१.०१ प्रतिशत अर्गानोफस्फेट, धादिङको ब्रो–काउलीमा ६८.५१ प्रतिशत अर्गानोफस्फेट, चितवनबाट आएको घिउ सिमीमा ९५.३२ प्रतिशत अर्गानोफस्फेट, पुस ११ गते चितवनबाट आएको घिउसिमीमा ९५.३२ प्रतिशत अर्गानोफस्फेट, पुस १२ गते बिरगञ्जबाट आएको काउलीमा ९८.९९ प्रतिशत अर्गानोफस्फेट, पुस १७ गते भक्तपुरको पालुङ्गो सागमा ७७.२९ प्रतिशत अर्गानोफस्फेट, पुस १८ गते भारतबाट आएको हरियो खुर्सानीमा ५७.२९ प्रतिशत अर्गानोफस्फेट र काठमाडौंमै उतपादित रायो सागमा ९६.१२ प्रतिशत अर्गानोफस्फेट, पुस २३ गते कालीमाटिमा आएको रायो सागमध्ये भक्तपुरमा उत्पादित रायो सागमा ५५.६१ प्रतिशत कार्वामेट र ७५.५५ प्रतिशत अर्गानोफस्फेट, काठमाडौंमा उत्पादितमा ९२.२४ अर्गानोफस्फेट भेटिएको थियो।
यस्तै, पुस २४ गते कालीमाटीमा आएको तरकारीमध्ये भक्तपुरको पाकुचा सागमा ५४.८६ प्रतिशत र जिरी सागमा ८८.८४ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो भने, सोही दिन काठमाडौंमा उतपादित भाजी रायो सागमा ९९.२३ प्रतिशत र मार्फा सागमा ८३.७७ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो।
पुस २६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभागको प्रयोगशालामा गरिएको परीक्षणमा कालीमाटीमा सर्लाहीबाट भित्रिएको टाटे सिमीमा ५५.५१ प्रतिशत कार्वामेट र ३०.५४ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ।
प्रतिक्रिया