काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।
बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा बिहीबार साँझ बा.३ ख ८४४५ नम्बरको माइक्रो सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– १० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । गम्भीर अवस्थाका दुई घाइतेलाई धुलिखेल अस्पतालबाट राति नै काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । जनकपुर १२ का २३ वर्षीय रिचवन नदाफ र मनिका नदाफको हाल ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ।
बाँकी दुई घाइतेको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । त्यसैगरी चारजना घाइतेको खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। सामान्य उपचारपछि दुईजना भने डिस्चार्ज भएका छन्। दुर्घटनापछि माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया