काठमाडौं । काठमाडौं र भक्तपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८, भंगालका मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा सातजनालाई पक्राउ गरिएको छ । शनिबार साँझ मिलनसहितका व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले नगद ५५ हजार ४२० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो । यस्तै, भक्तपुर नगरपालिका–१, चुनदेवीस्थित नरबहादुर खड्काको आरबिके सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको छ ।
भक्तपुरको सल्लाघारीमा बस्दै आएका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ५२ वर्षीय ओमबहादुर जोगीसहितका व्यक्तिहरूलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले नगद ४४ हजार ६०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया