काठमाडौं । ललितपुरको ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम शुरु भएको छ। सडक विभागले झण्डै काम रोकिएको एक महिनापछि पुन: काम शुरु भएको जनाएको छ।
ठेकेदार कम्पनीले काम गर्ने वातावरण नभएपछि काम रोकेको बताएकाे थियाे। अहिले भने काम शुरु भएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले जानकारी दिए।
२०७८ फागुन १२ गते आशिष–समानान्तर–रेलिगेर जेभी र सडक विभागबीच २०८० फागुन ११ (२ वर्ष)को अवधिमा ४ लेनको काम सक्ने गरी सम्झौता भए पनि तोकिएको समयमा बन्न सकेन। त्यसपछि २०८१ पुस ८ गतेसम्म निर्माणको म्याद थप गरियो। थप गरिएको म्यादमा पनि काम सकिएन।
समयमा काम सम्पन्न नभएपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको छ। विभागका प्रवक्ता अर्यालले काम शुरु भएको जानकारी दिँदै अबको दुई महिनाभित्र बाँकी सबै काम सकिने बताए।
उनका अनुसार हालसम्म ८२ प्रतिशतभन्दा बढी निर्माणको काम सकिएको छ। विभागका अनुसार अझै करिब ६० मिटरमा प्रिकास्टस कङ्क्रिट फेसिया प्यानल जडान हुन बाँकी छ। र्याम्प झिकेर फेरि राख्नेलगायत काम बाँकी छ।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा बन्न लागेको फ्लाइओभरको लम्बाइ ४९० मिटर रहनेछ। ग्वार्को चोकबाट बी एण्ड बीतर्फ १३५ मिटरको र्याम्प रहनेछ भने ग्वार्को चोकबाट बालकुमारीतर्फ २८० मिटरको र्याम्प रहनेछ। यो मुलुककै पहिलो फ्लाइओभर’ निर्माण शुरु भएको हो।







प्रतिक्रिया