२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा दैनिक ३४ करोड लिटर पानी ल्याउने कार्य अघि बढाइएको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा थप खानेपानीको माग भइरहेको बताएका छन्। प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले उपत्यकामा दैनिक ३४ करोड लिटर पानी ल्याउन कार्य अघि बढाइएको जानकारी गराएका हुन्।

ओलीले काठमाडौं उपत्यकामा थप दैनिक १३ करोड लिटर खानेपानी उपलब्ध गराउन सिस्नेरी खानेपानी आयोजनाको विस्तृत अध्ययन कार्य अगाडि बढाइएको जानकारी गराए। ‘काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर खानेपानी वितरण भइरहेको छ। हाल चक्रपथभित्र मेलम्चीको खानेपानी वितरण भइरहेको छ भने चक्रपथ बाहिर उपत्यकाभित्रका अन्य स्रोतहरूबाट खानेपानी वितरण भइरहेको छ।’ ओलीले भने, ‘बढ्दो शहरीकरणसँगै काठमाडौं उपत्यकामा थप खानेपानीको माग भैरहेको अवस्थामा थप पानी आपूर्तिको लागि याङ्ग्री-लार्के खोलाबाट दैनिक ३४ करोड लिटर पानी ल्याउने विषयमा कार्य अघि बढाइएको छ।’

उनले काठमाडौं उपत्यकामा थप दैनिक १३ करोड लिटर खानेपानी उपलब्ध गराउन सिस्नेरी खानेपानी आयोजनाको विस्तृत अध्ययन कार्य अगाडि बढाइएको पनि जानकारी दिए।

खानेपानीको थप स्रोतको वृद्धि गर्न याङ्ग्री र लार्के नदीबाट समेत प्राप्त हुने थप खानेपानीलाई सुन्दरीजलमा दैनिक २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र र उपत्यकामा थप खानेपानी वितरण सञ्जालको निर्माण गरिने उनको भनाई छ। ओलीले भने, ‘चक्रपथ बाहिरका क्षेत्रहरूमा पनि खानेपानी वितरण लाइन सुधारका कार्य अगाडि बढाइएको छ। ललितपुर महानगरपालिका वडा न. ७, ८, ९, १४, १५ र १७ नखिपोट, खुमलटार तथा ग्वार्को क्षेत्र र महालक्ष्मी नगरपालिका वडा न. १, २, ३, ४ र ५ इमाडोलमा खानेपानी वितरण संजाल निर्माण कार्यको विस्तृत अध्ययन कार्य भइरहेको छ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।