४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माणका लागि १ हजार ३ सय रोपनी जग्गा दिने सम्झौता



नेपालमै पहिलो स्वस्थ सहरको दर्जा पाएकामा धुलिखेललाई बधाई छ, फिल्म सिटीले धुलिखेलाई अझ सुन्दर बनाउने छ, यसलाई गौरवको विषय मान्नुपर्छ

काभ्रेपलाञ्चोक
पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच आज वडा नं ८ स्थित कटुवापाखाको एक हजार तीन सय रोपनी जग्गाका लागि सम्झौता भएको हो ।

धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसका अवसरमा आज बोर्ड र नगरबीच जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । नगरप्रमसख अशोक ब्याञ्जू र बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पर्यटकीय नगर धुलिखेलमा चलचित्र स्टुडियो निर्माणले धुलिखेलको सुन्दरतालाई थप उचाइमा पुर्याउने बताएका छन् । “नेपालमै पहिलो स्वस्थ सहरको दर्जा पाएकामा धुलिखेललाई बधाई छ, फिल्म सिटीले धुलिखेलाई अझ सुन्दर बनाउने छ, यसलाई गौरवको विषय मान्नुपर्छ”, उनले भने ।

नगरप्रमुख ब्याञ्जूले चलचित्र क्षेत्रको विकास एवं प्रवद्र्धनका लागि नगरले सकेको सहयोग गर्ने बताउँदै धुलिखेलमा आउटडोर स्टुडियो परियोजनाले नेपाललाई अन्तरराष्ट्रिय चलचित्र गन्तव्यका रुपमा थप विकास गर्ने अपेक्षा गरिएको बताएका छन् । त्यसैगरी बोर्डका अध्यक्ष डिसीले उक्त जग्गामा प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरी आउटडोर स्टुडियो निर्माण नेपाली चलचित्र उद्योगका लागि नयाँ उपलब्धि सावित हुने बताएका छन् ।

यसअघि बनेपा नगरपालिका–१० र १३ वडास्थित बाहुनडाँडा सामुदायिक वनमा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको प्रक्रिया थालिएको छ । गत असार २८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने योजना समावेश गरिएको थियो । डिसीका अनुसार सन् २०२६ भित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।