काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले भारतको ओडिसास्थीत कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीलाई गरिएको दूर्व्यवहारका बारे छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनीहरुले उक्त घटनामा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकमा एमाले सचिव एवम् सांसद् छविलाल विश्वकर्माले विद्यार्थी दबाबमा रहेको जानकारी रहेकाले तथ्यपरक छानबिन गर्न माग गरे। त्यसैगरी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले केआईआईटीमा छानबिनको माग गर्दै आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले अमानवीय व्यवहार गरेको दाबी गरे। उनले उक्त घटनामा कूटनीतिक अक्षमता प्रदर्शन भएको भन्दै माओवादीले घोर निन्दा गर्ने बताए।
यसैगरी रास्वपा सांसद मनिष झाले नेपालको बजेटलाई कलेज बजेटसँग तुलना गरेको भन्दै आपत्ति जनाए। उनले २२ लाख नेपाली भारतमा भएकाले नेपालले हेर्ने कुटनीति परिवर्तन गर्नुपर्ने बताए। उनले विद्यार्थीहरुप्रति गरेको व्यवहारको कुटनीतिक पहल गर्न आग्रह गरे।
त्यस्तै सांसद ठाकुर गैह्रेले पनि मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त विद्यालयका प्रशासकले गरेको अभद्र व्यवहारप्रति आक्रोश व्यक्त गरे। उनले नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति खेद व्यक्त गरे। बैठकमा बोल्ने सांसद प्रभु शाह, ध्रुव प्रधानलगायतका सांसदले पनि भारतीय प्रशासकको व्यवहारको निन्दा गरेका छन्।
प्रतिक्रिया