काठमाडौं
चलचित्र ‘लाज शरणम’को प्रचार सामाग्रीको सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा प्रचार नगर्न नगराउन पाटन उच्च अदालतले आज अन्तरिम आदेश दिएको छ ।
पूर्वमन्त्री मोहम्मद अफताव आलमले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएका हुन् ।
चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको भन्दै पुर्वमन्त्रीले त्यस सामाग्रीको प्रचार प्रसार रोक्न माग गर्दै आलमले रिट दायर गरेका थिए ।
अदालतले आदेश दिदै भनेको छ, ‘निवेदकको संविधान कानून प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरि पात्रले अभिनय गरेको प्रस्तावित लाज शरणम नामक चलचित्रको विज्ञापन सामाजिक संजाल तथा अन्य सार्वजनिक संचारमाध्यममा प्रचारप्रसार र सो सम्बन्धी पोस्टहरु प्रकाशन, प्रसारण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिनू ।’
अदातलको आदेश पछि चलचित्र प्रर्दशन हुने नहुने अन्यौल बढेको छ । यही फागुन १४ गते शिवरात्रीबाट चलचित्र प्रर्दशन हुने निर्माण पक्षले बताउदै आएको थियो ।
प्रतिक्रिया