३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


परोपकार अस्पतालमा बर्थिङ सेन्टर विस्तार, दक्ष जनशक्ति उत्पादनका लागि सिमुलेसन ल्याब



काठमाडौं । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ ।
अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार उद्घाटन गरे ।

ल्याबमार्फत् नर्सिङ, अनमी, मिडवाइफ तथा चिकित्सकहरूको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ । बिरामीलाई कुनै असर नपुर्‍याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृ संस्था यूएसएडमार्फत् अमेरिकी च्यारिटी वन हार्ट वर्ल्डडवइडले आर्थिक सहयोग गरेको हो ।

यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संलग्न जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए ।

ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्त्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे ।

अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताए ।

मन्त्री पौडेलले मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत घोषणा गरे ।

२०१६ सालमा स्थापित अस्पतालले हाल झन्डै पाँच सय शय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ । मन्त्री पौडेलले जिम्मेवारी सम्हालेयता अस्पतालले नयाँ भवनबाट विशिष्टिकृत सेवा अन्तर्गत नि:सन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा शुरू गरेको निर्देशक अधिकारीले बताए ।

पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको निर्देशक अधिकारी बताउँछन् ।

अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गरेका छन् । यसअघि अस्पतालमा ८ जनाको क्षमता रहेकामा अब थप ४ जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ ।

दुई मिडवाइफ अधिकृत थपिए पछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए । प्रसूति सेवामा सरकारी विशिष्टिकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा सके जति सेवा दिन सकिएको थिएन । अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।