३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


४१६ वर्ष पुरानो नवःदेग मन्दिर भूकम्पले भत्काएको १० वर्षपछि पुनर्निर्माण हुँदै



काठमाडौं । शुक्रपथबाट वंघ (इन्द्र चोक) हुँदै भेडासिंहतर्फ लाग्दा पहिलो चोक (भेडासिंह चोक)मा पुनःनिर्माण भइरहेको मन्दिर नवःदेग (भवानी शंकर मन्दिर) हो । यो काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ मा पर्छ । मन्दिर प्रताप मल्लका पालामा सन् १६७५ ताका निर्माण भएको अभिलेखमा उल्लेख छ । त्यस बेलाका शक्तिशाली महामन्त्री देवीदास चिकुटिले मन्दिर निर्माण गराएका थिए । यो मन्दिर त्यतिबेलाको अग्लो, कलात्मक र प्रभावशाली संरचना थियो ।

४ तहको पेटीमाथि निर्माण भएको मन्दिरको मुख्य द्वार पश्चिम फर्किएको छ । निर्माणका समयमा यो तले शैलीको थियो । वि. सं १९९० साल (सन् १९३४) को भूकम्पमा भत्किनु अघिसम्म पनि यो तीनतलाको तले शैलीकै थियो । भूकम्पले भत्किएको मन्दिर पुननिर्माण गर्ने क्रममा शैली परिवर्तन गरेर तले शैलीको तल्लो तला कायम राखेर त्यसमाथि गुम्बज शैली थपिएको थियो ।

२०७२ सालको भूकम्पले जीर्ण भएको मन्दिरको वास्तु गुम्बज शैलीबाट मौलिक तले शैलीमा अहिले पुननिर्माण भइरहेको हो ।

पश्चिमबाट पूर्वतर्फ फर्किएर मन्दिरको मुख्य द्वारसम्म पुग्ने गरी ढुङ्गाका सिँढी छन् । गर्भगृहमा भवानीशङ्कर शिवलिङ्गलाई केन्द्रमा राखेर पञ्चायन देवताहरु गणेश, सूर्य, नारायण र महालक्ष्मीका मूर्तिहरूलाई भित्ताहरूमा स्थापना गरिएका छन् ।

मन्दिर पुननिर्माणको लागत ५ करोड ३५ लाख ८० हजार रुपैयाँ हो । २०८२ फागुन ४ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पुननिर्माण भइरहेको छ । पुननिर्माणका लागि २०८१ साल भदौ २ गते कार्यादेश दिइएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।