काठमाडौं । अभिनेत्री श्वेता खड्काले बनाएको बस्ती लिलामीको अवस्थामा रहेको पाइएको छ । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले सिन्धुपाल्चोकका ५५ घर माझी परिवार लिलाम हुन लागेको बताएकी हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा माझी परिवार विस्थापित हुनपर्ने अवस्थामा पुग्न लागेको भन्दै उनले ध्यानाकर्षण गराइन् । उनले भनिन्‘स्वेता खड्का कलाकारको हिसाबले सम्मानित व्यक्ति हो,हामी पनि उहाँको सम्मान गर्छौ । तर उहाँले कर्तव्य निर्वाह नगरेका कारण आज सिंगो माझी बस्ती कालोसूचीमा परेर लिलाम हुने अवस्थामा पुगेको छ ।’
सांसद माझीले ‘उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो, जनसेवा देखाउन खोज्नुभयो । तर त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ ।’
नायिका खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेसनमार्फत अभियान चलाएकी थिइन् ।
चौतारा साँगाचोकगढी नगरपालिका ११ को माझी बस्ती बनाउन स्वेता खड्का फाउन्डेसनमार्फत घर निर्माण गरिएको तर उनले बीचमै छाडेर हिँडेपछि ५५ घरधुरी बैंकको कालोसूचीमा परेको सांसद माझिले बताइन् ।
प्रतिक्रिया