सर्वोच्चमा मुद्दा हाल्नुस् । म हस्ताक्षर गर्दिन । मुद्दा हार जित जे हुन्छ देखाजाएगा
ललितखबर
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले भूमि आयोग ललितपुरलाई सहयोग नगर्ने बताएका छन् ।
ललितपुर महानगरको हरिसिद्दिमा आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै मेयर महर्जनले सरकारले भूमिहिन सुकुम्बासीहरुलाई जग्गा उपलव्ध गराउन गठन गरेको आयोगको एउटा स्थानीय निकायमा रहेको सार्वजनिक जग्गामा उनीहरुलाई बसोबास गर्न सक्ने अवस्था आउने भन्दै आफूले सो निर्णयमा हस्ताक्षर नगर्ने अडान लिएका छन् ।
सुनुवाईका क्रममा भूमिहिन र सुकुम्बासीहरुलाई लालपूर्जा उपलव्ध गराउनका लागि महानगरले अवरोध गरेको भन्दै सहभागीले आपत्ती जनाएपछि मेयर महर्जनले महानगरमा ३ प्रतिशत मात्रै सार्वजनिक जग्गा रहेको र स्मार्ट सिटीका लागि कम्तिमा १० प्रतिशत सार्वजनिक जग्गा आवश्यक पर्ने हुँदा यहाँका सार्वजनिक जग्गा व्यक्तिलाई दिन नसकिने बताउदै आफूले ज्यान गए पनि हस्ताक्षर नगर्ने अडान लिए । भने,‘मैले कुनै पनि निर्णयमा समर्थन गरेर हस्ताक्षर गरे पछि अप्ठ्यारो हुन्छ । महानगरको जग्गामा सुकुम्बासी नबसाउने निर्णय गरेको खण्डमा मात्रै म हस्ताक्षर गर्छु ।’
देशभरका विभिन्न पालिकाहरुले हस्ताक्षर गरेको भए पनि आफू भने सो निर्णयमा हस्ताक्षर गर्ने पक्षमा नरहेको उनको भनाई थियो । यद्यपी मेयर महर्जनले आयोगमा विभिन्न चरणमा छलफल भने भइरहेको बताए ।
सार्वजनिक सुनुवाईमा सहभागीले संविधानले दिएको अधिकार प्रयोग गर्न भूमिहिनलाई बञ्चित गरेको भन्दै आक्रोस पोखेका थिए । मेयर महर्जनले सुनुवाईमा सहभागीहरुलाई चुनौती दिदै भने, ‘सर्वोच्चमा मुद्दा हाल्नुस् । म हस्ताक्षर गर्दिन । मुद्दा हार जित जे हुन्छ देखाजाएगा ।’
सुनुवाईमा सहभागीहरुले महानगरका मेयर महर्जनले स्मार्ट सिटीको नारा लगाए पनि नगरभित्र ईटा भट्टाका कारण धुलो बढेको, सडक पक्की नहुँदा धुलाम्मे र हिलाम्मे सहनु परेको, ढल नहुँदा बस्ती डुवानमा परेको र फुटपाथ नहुँदा हिडजुल गर्न समस्या परेकोजस्ता दर्जनौं गुनासो सुनाएका थिए ।
प्रतिक्रिया