ललितखबर
प्रर्दशनको पुर्वसन्ध्यामा राजधानीमा औपचारिक कार्यक्रम आयोजना गर्दै चलचित्र ‘जन्ते बाख्रो’ को प्रचार सामाग्री ट्रेलर सार्वजनिक गरिएको छ ।
राजधानीका चलचित्र भवनहरुमा केही दिनदेखि विज्ञापनको रुपमा बजिरहेको भए पनि औपचारिक कार्यक्रम आयोजना गरेर राजधानीको ठमेलस्थित एक हलमा पत्रकार र कलाकारहरुबीच ट्रेलर प्रिमियर गरिएको हो ।
सार्वजनिक ट्रेलरको विषयबस्तु लभस्टोरी र कमेडीको समिश्रण रहेको पाइएको छ । ट्रेलर सार्वजनिकपछि पत्रकारहरुले कमेडीले हसाँउन नसकेको भन्दै निर्माण पक्षसँग जिज्ञाशा राखेका थिए । प्रतिउत्तरमा निर्देशक सिमोस सुनुवारले चलचित्रभित्र रोचक कुराहरु लुकेको बताएका थिए ।
चलचित्रमा सौगात मल्ल, आसिफ शाह र गरिमा शर्मासँगै लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, कमल देवकोटा, संगीता शर्मा, समापिका गौतम, रूषा न्यौपाने, कुसुम शर्मा, कुशल गजमेरलगायतको अभिनय रहेको छ ।
‘जन्ते बाख्रो’ लाई सिमोस सुनुवारले निर्देशन गरेका छन् भने चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । मुईन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘जन्ते बाख्रो’ को निर्माता सन्तोष गौतम रहेका छन् ।
चलचित्र यही जेठ २३ गतेबाट देशभर प्रर्दशनको तयारीमा रहेको छ ।
प्रतिक्रिया