१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जन्ते बाख्रो’ जेठ २३ गतेदेखि प्रदर्शन हुने



काठमाडौं । नेपाली चलचित्र ‘जन्ते बाख्रो’ निर्माण भएको छ । निर्देशक सिमोश सुनुवारले नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई ‘जन्ते बाख्रो’ चलचित्र तयार भएको हो ।

उक्त चलचित्रको श्रव्यदृश्य ट्रेलर सार्वजनिक गर्दै विवाहमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज संस्कारलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक सुनुवारले स्पष्ट पारे ।

“भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने यो मौलिक परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ । लोप हुन लागेको यही सुन्दर र जीवन्त परम्परालाई ‘जन्ते बाख्रो’मार्फत दृश्यमा दस्तावेजीकरण गर्ने उद्देश्यसहित चलचित्र तयार पारेको छु । ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर चलचित्रको विषयवस्तु अगाडि बढेको छ । यसमा अन्य चलचित्र झैँ दर्शकले प्रशस्तै मनोरञ्जन प्राप्त गर्नुहुने विश्वास लिएको छु ।”

चलचित्रमा नेपाली ग्रामीण जीवनशैली र परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले हाम्रा नयाँ पुस्ताका लागि मनोरञ्जनसहति जानकारी प्राप्त हुने उनले बताए । सो चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन् ।

लेखक प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेखेका उक्त चलचित्रलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । लेखक भारद्वाजले नेपाली चलचित्रमा मनोरञ्जनसँगै संस्कृति र परम्परालाई जोड्ने माध्यम चलचित्र ‘जन्ते बाख्रो’ बनेको बताए । “हामीले चलचित्रमार्फत आफ्नो कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउनु पर्छ । सोही कारण मैले ती तथ्यलाई समेटेर चलचित्रका लागि कथावस्तु तयार गर्ने प्रयास गरेको छु । यो हामी चलचित्रकर्मीको कर्तव्य पनि हो”, लेखक भारद्वाजले भने ।

उनले श्रव्यदृश्य (ट्रेलर) अगाडि सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाउनुभएको जानकारी दिए । काठमाडौँ उपत्यकाको काठ क्षेत्रसहित आसपासका गाउँवस्तीमा छायाङ्कन गरिएको सो चलचित्र आगामी जेठ २३ गतेदेखि प्रदर्शन हुने बताइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  ६ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।