१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अस्पतालमा दुई हजारभन्दा धेरै जनशक्ति थप्ने सरकारको तयारी



 

काठमाडौँ
अस्पतालमा दुई हजारभन्दा धेरै जनशक्ति थप्ने सरकासको तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेकामा अर्थ मन्त्रालयसँगको सहमतिमा स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएको थिए ।

यसका लागि मन्त्रालयका सहसचिव ऋषि आचार्यको नेतृत्वमा आन्तरिक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले दुई हजार १०२ जनशक्ति थप गर्न सकिने गरी सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको सङ्ख्या अधिक छ ।

पाँच वर्षसम्म हरेक वर्ष जनशक्ति थप्ने गरी तयार पारिएको सङ्गठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा ७ सय ७७ जनशक्ति थप्नुपर्ने जनाइएको छ । यस्तै, वीरअन्तर्गतकै ट्रमा सेन्टरमा ९० जनशक्ति थप्न सकिने उल्लेख छ ।

यसैगरी कान्ति बाल अस्पतालमा ७८, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा १ सय ७३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ सय १७ स्वास्थ्य जनशक्ति थपिने छन् ।

यीबाहेक कोशी अस्पतालमा १ सय ७२, नारायणी अस्पतालमा ३१८ तथा भेरी अस्पतालमा १ सय ७९ जनशक्ति थप हुनेछन् । गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा १४४ जनशक्ति थपिँदा चितवनको भरतपुर अस्पतालले ४ सय ६५ जनशक्ति पाउनेछ । डडेल्धुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी सङ्गठन संरचना गरिएको छ । आज प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा चाप अत्यधिक भए पनि लामो समयसम्म जनशक्ति थप नहुँदा सेवा दिन कठिनाइ भइरहेको र यस कार्यले केही हदसम्म समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

जनशक्ति पूर्तिपछि विभिन्न अस्पतालमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ । विसं २ हजार ६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रूपमा सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन । यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।