१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पनौतीमा आजदेखि हिले–जात्रा सुरु



काभ्रेपलाञ्चोक
ऐतिहासिक नगर पनौतीमा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ ।
परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रुपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू)हरु सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ । आजै राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा (होम गर्ने) पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।
जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरिन्छ । साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीरजात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ ।
त्यसैगरी जात्राको तेस्रोअर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ ।
जात्राको विधिअनुुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछागर्ने कार्यका रुपमा अबीरजात्रा गरी रथ जुधाइने गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् ।
धार्मिक आधारमा रथ जुधाउने परम्परालाई यौनिकता प्रस्तुतिका रुपमा लिइने गरिन्छ । इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो । तर, पछिल्ला केही बर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ ।
जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाईं सफल हुने जनविश्वास गरिन्छ । जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । स्थानीयले जात्रा अवधिभर प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम राखी आफ्ना पाहुना बोलाइ स्वागत सत्कारकासाथ भोज गर्छन् । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रहीआएको छ ।
जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्राअर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको स्थानीय बताउँछन् । जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रुपमा लिने गरिएकाले पनौती नगरपालिकाले मङ्गलबार र बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।