१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँमा फोहरको वर्गीकरण नहुँदा समस्या



काठमाडौँ
काठमाडौँ महानगरपालिकाले फोहरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ ।
महानगरले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सरोकारवालासँगको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो । महानगरकी वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने, त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने बताइन् ।
महानगरले आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म विभिन्न स्वास्थ्य संस्थामा ९६ पटक हानिकारक फोहर व्यवस्थापन अनुगमन गरेको जनाएको छ । महानगर वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार केही अस्पतालमा तीन पटकभन्दा बढी अनुगमन गरिएको छ । यसवर्ष पनि अस्पताल, क्लिनिक, पोलिक्लिनिक, डेन्टल क्लिनिक, आइभीएफ सेन्टरको अनुगमन गरिएको छ । अनुगमन गरिएका स्वास्थ्य संस्थामध्ये चालु आर्थिक वर्षमा अनुगमन भएका स्वास्थ्य संस्थाका प्रतिनिधि अनिवार्य समावेश हुने गरी सोमबारदेखि हानीकारक फोहर व्यवस्थापन र तरल फोहर प्रशोधन प्रणालीका विषयमा प्रशिक्षण सुरु भएको छ ।
सहरी योजना आयोगका सदस्य प्रसुन्नरत्न बज्राचार्यले घरघरमा औषधिजन्य फोहरको मात्रा भेटिन थालेकाले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत फोहरबाट हुने जनस्वास्थ्य र वातावरणीय असर कसरी घटाउने भन्ने विषयमा काम गर्ने बेला भएको बताएका छन् ।
प्रशिक्षणमा स्वास्थ्य संस्थाजन्य फोहरको प्रकृति र व्यवस्थापन विधिका विषयमा प्रस्तुतिकरण गर्दै जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले सावधानी र सचेतना भए स्रोतमै फोहरको मात्रा घटाउन सकिने बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य संस्थाबाट प्रति शय्या प्रतिदिन ०।९९ किलो देखि १।७३ किलोसम्म फोहर उत्पादन हुन्छ । यसरी उत्पादन हुने सङ्क्रामक फोहरलाई निर्मलीकरण नगरी व्यवस्थापन गरिएमा जनस्वास्थ्य, हावा, पानी र माटोको सम्पर्कमा आएर मानिससँगै जैविक तत्वलाई प्रत्यक्ष, अप्रत्यक्ष र दीर्घकालीन समस्या आउने गर्दछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।