काठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा एक पुरुषले आफ्नै पत्नीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। मंगलबार राति करिब १० बजेतिर भएको घटनामा ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले घरेलु विवादका क्रममा ३० वर्षीया श्रीमती देविका बुढाथोकीलाई खुकुरी प्रहार गरेका हुन्।
प्रहरीका अनुसार दम्पतीबीच भनाभन भएपछि चन्द्रबहादुरले खुकुरी निकालेर देविकामाथि आक्रमण गरेका थिए। आक्रमणपछि देविका घरबाट भागेकी थिइन् तर चन्द्रबहादुरले खेतमा पुगेर उनलाई समातेका थिए। त्यसपछि उनले खुकुरी प्रहार गर्दा देविकाको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि चन्द्रबहादुर ४ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय चौरजहारी पुगेर आत्मसमर्पण गरेका थिए। उनी रगतले लथपथ खुकुरीसहित प्रहरी कार्यालय पुगेका थिए। उनले प्रहरी समक्ष श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश विष्टका अनुसार उनीहरूबीच पहिले पनि विवाद हुने गरेको पाइए पनि हत्या हुनसक्ने कारण अझै खुल्न बाँकी रहेको छ।
देविकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया