३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका एलिना चौहानलाई दुव्र्यवहार गरेको आरोपी गुञ्जन राईलाई तीन दिन म्याद थपेर थुनामा



काठमाडौँ
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ ।
गायिका चौहानले दिएको जाहेरीका आधारमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल ललितपुरको गोदावरी बस्ने ३३ वर्षका गुञ्जन राईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।
अदालतको आदेशले विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा छानबिन तथा अनुसन्धानका लागि ब्युरोलाई तीन दिनको म्याद प्राप्त भएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षक अवस्थीले भने, “प्राविधिक विश्लेषण र अनुसन्धानबाट उक्त घटनामा राई नै संलग्न रहेको पाइयो, धेरै आइडी बनाएर यस्ता गतिविधि पनि गर्ने गरेको पाइएको छ, उनीमाथि अनुसन्धान जारी छ ।”
उनका अनुसार राईले चरित्र हत्या हुनेगरी पीडितको तस्बिर र भिडिओसमेत पोष्ट गर्ने र पीडितकै फेसबुकमा गालीगलौज गरी चरित्रहत्या हुने खालका विषय कमेन्ट बक्समा पोष्ट गर्ने गरेको पाइएको छ ।
गायिका चौहानले आफ्नो फेसबुक स्टाटसमा चरित्रहत्या हुनेगरी कमेन्ट गर्ने गरेको उल्लेख गर्दै यही असार १६ गते ब्युरोमा जाहेरी दिएकी थिइन् ।
गायिका चौहानले यो आफ्नो मात्रै लडाईं नभएको, चरित्रहत्या गर्ने अधिकार कसैलाई नभएकाले साथ दिन सार्वजनिक अनुरोधसमेत गरेकी छिन् ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।