काठमाडौं । संघीय निजामती सेवा विधेयकमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’सन्दर्भमा उठेको विवादबारे छानबिन गर्न संसदमा विशेष संसदीय समिति गठन हुने भएको छ।
शनिबार सभामुख देवराज घिमिरेको उपस्थितिमा विभिन्न दलका नेताहरूबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
बर्तौलाका अनुसार समिति ७ सदस्यीय हुनेछ। जसमा नेकपा एमाले र नेपाली कांग्रेसबाट २/२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सदस्य रहनेछन्।
उनले संसद्को नियमावलीको दफा १८० अनुसार समिति गठन गर्न सहमति जुटेको र समितिमा रहने सदस्यहरूको नाम सोमबार सार्वजनिक गरिने जानकारी दिए।
संघीय निजामती सेवा विधेयकमा कार्यरत कर्मचारीले पद त्याग गरेपछि पुनः सेवा प्रवेश गर्न पाउने वा नपाउने विषयमा विवाद उत्पन्न भएपछि कुलिङ पिरियडसम्बन्धी व्यवस्थामाथि प्रश्न उठ्दै आएको छ। यही विषयमा विधेयक तयारीको चरणमै गम्भीर त्रुटि र गडबडी भएको आरोप लागेपछि छानबिनका लागि विशेष समिति गठन गर्न लागिएको हो।
प्रतिक्रिया