काठमाडौं । अभिनेत्री उषा रजकले दिवंगत अभिनेता सारुक ताम्राकारको सम्झनामा धरधरी रोएको ८ मिनेट लामो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। सारुकको निधन भएको दुई वर्ष पुगेको दिन अर्थात् ‘दोस्रो डेथ एनिभर्सरी’मा भावविह्वल हुँदै रजकले आफू डिप्रेस्ड अवस्थामा रहेको बताइन्।
भिडियोमा उनले भनिन्, “म आफैंलाई मर्न मर्न लागिरहेको छ। आज सारुकको डेथ एनिभर्सरी रहेछ। के गर्ने, उसको बैकुण्ठबास भइसक्यो होला, तर पनि…” भन्दै रोएकी छन्।
उषाले सारुकको आत्महत्यामा शंका व्यक्त गर्दै उनको पार्टनरले अत्यधिक कन्ट्रोल गरेकाले, परिवार र साथीभाइबाट टाढा लगाएकाले यस्तो अवस्था आएको हुनसक्ने बताइन्। उनले यस्तो व्यवहारलाई स्वार्थीपनाको संज्ञा दिँदै कसैलाई आफ्नो अनुकूल मेनुपुलेट गर्नु अमानवीय भएको बताइन्।
उषाले आँखा रसाउँदै भनिन्, “ऊ त साथी मात्र थियो, तर पनि यत्तिको पीडा भयो। उसकी आमालाई कस्तो पीडा भयो होला! उसको बुवाको पनि निधन भइसकेको थियो। म केही सहयोग गर्न सकिन, गिल्टी फिल हुन्छ।”
ध्यान, वेद र पुराण पढेको अनुभव सुनाउँदै उनले सारुकको मृत्युलाई अन्याय हुनसक्ने शंका व्यक्त गरिन्। “कतै यो अन्याय त होइन?” भन्ने भावनासहित उनले सारुकको आत्मा शान्त ठाउँमा रहेको अनुभूति भएको बताइन्।
एक सन्तानकी आमा उषाले आफूलाई मर्ने छुट नभएको भन्दै भनेकी छन्, “हरेक दिन यसरी धेरै रुन पनि पाउँदिन। घरको काम, बच्चाको जिम्मेवारी छ। तर हरेक दिन डिप्रेस्ड भएर बस्नु बच्चाको लागि पनि ठीक होइन।”
सारुक ताम्राकारको करिअर ‘रानी’ फिल्मबाट सुरु भएको थियो। ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लन्डन’मा उनले अभिनय गरेका थिए। उनी दुई वर्षअघि घरमै मृत भेटिएका थिए।
उषा रजकले ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’जस्ता चलचित्रमा अभिनय गरेकी छन्। रसियन नागरिकसँग विवाह गरेर कीर्गिस्तान पुगेकी उनी सात वर्षपछि नेपाल फर्केकी थिइन्। फर्किएपछि ‘कठपुतली’बाट अभिनयमा पुनः सक्रिय भएकी उषा अहिले श्रीमानसँग अलग भएकी छन्।








प्रतिक्रिया