२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अब मापसे तथा लेन अनुशासन उल्लङ्घन गर्नेले अनलाइनमार्फत नै कक्षा लिइने



काठमाडौं । गृहमन्त्री रमेश लेखकले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अनलाइन ट्राफिक सचेतना कक्षाको औपचारिक शुभारम्भ गरेका छन्।

यस प्रणालीको सुरूवातसँगै अब मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिहरूले अनिवार्य रूपमा ट्राफिक कार्यालय पुगेर कक्षा लिनुपर्ने बाध्यता हट्नेछ। उनीहरूले नागरिक एपमार्फत अनलाइनमै ट्राफिक सचेतना कक्षा लिन सक्ने व्यवस्था मिलाइएको छ।

शुभारम्भ समारोहमा गृहमन्त्री लेखकले भने, “नेपाल प्रहरी प्रविधिको प्रयोगमा एकपछि अर्को आयाम थप्दै गइरहेको छ। सरकार पनि प्रहरीलाई प्रविधियुक्त बनाउने दिशामा क्रियाशील छ।” उनले प्रविधि उपयोगका क्रममा आवश्यक सावधानी र सचेतना पनि अपनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको स्पष्ट पार्दै भने, “समाजको गति र आवश्यकतालाई बुझ्दै प्रहरी सेवामा प्रविधिको प्रयोग बढाइएको छ। अनलाइन ट्राफिक सचेतना कक्षा त्यसको अर्को महत्वपूर्ण अध्याय हो।”

आईजीपी थापाका अनुसार, पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिको माध्यमबाट दुर्घटना न्यूनीकरणमा उल्लेखनीय प्रभाव देखाएको छ। साथै उनले सेवा प्रयोगकर्ताबाट हुनसक्ने लापरबाहीका विषयमा पनि सतर्कता अपनाउन आग्रह गरे।

नयाँ अनलाइन प्रणालीबाट सेवाग्राहीलाई सहजता, समय बचत र पहुँचको सुविधा हुने अपेक्षा गरिएको छ। भविष्यमा समेत ट्राफिक व्यवस्थापन र नागरिक सेवासम्बन्धी विषयहरूमा डिजिटल सेवा विस्तार गरिने प्रहरी संगठनले जनाएको छ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।