काठमाडौं । चोरी पैठारीको आशंकामा ट्राफिक प्रहरीले दुई वटा कारसहित दुई जनालाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ का ४० वर्षीय धनबहादुर तामाङ र सिन्धुली गोलन्जोर गाउँपालिका–३ का ३९ वर्षीय मोहन लामा रहेका छन्। तामाङ जोरपाटी बेशीगाउँमा बस्दै आएका थिए भने लामा हाल बौद्धमा बसोबास गर्दै आएका थिए।
उनीहरू बा १६ च ३१३१ र बा १६ च ४०१७ नम्बरको सुझुकी स्वीफ्ट कारसहित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित शिवचोक र बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानमा ती गाडीहरू यातायात व्यवस्था विभाग, एकान्तकुना तथा सुझुकीको आधिकारिक कम्पनी दुवैको अभिलेखमा दर्ता नभएको पाइएको छ।
प्रहरी उपरीक्षक तथा ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले ती गाडीहरू चोरी पैठारीमार्फत नेपाल भित्र्याइएको हुनसक्ने आशंका गरिएको बताए। गिरिका अनुसार थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पक्राउ परेका दुवै व्यक्तिलाई गाडीसहित आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।
यस घटनाले चोरी पैठारीमार्फत नेपाल भित्रिने सवारीसाधनको अनुगमन र नियन्त्रण थप कडाइ गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ।








प्रतिक्रिया